टोपलाल अर्याल
रेसुङ्गा, साउन १३ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, ग्वादीमा गोठ भत्किँदा एक हल गोरु मरेका छन् । स्थानीय छबिलाल विश्वकर्माको गोठ मङ्गलबार बिहान भत्किएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
गोठमा काम गर्ने समयमा घटना भए पनि मानवीय क्षति नभएको ज्ञवालीले बताउनुभयो । मनसुन सक्रिय भएकाले सबैलाई सुरक्षित बस्ने र केही समस्या वा सङ्केत देखिनासाथ जनप्रतिनिधि र प्रहरीमा खबर गर्न सार्वजनिक अपिल गरिएको ज्ञवालीले बताउनुभयो ।
सोमबारदेखि परेको अविरल वर्षाले जिल्लाका तीन सडक अवरुद्ध छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले घटना मुचुल्काका लागि प्रहरी घटनास्थल जाँदै गरेको बताउनुभयो ।