लमजुङ समाचारदाता
लमजुङ, साउन १३ गते । जङ्गलमा पाइने निगालोको टुसाको व्यापार गाउँघरदेखि सहरबजारसम्म फस्टाउँदै गएको छ । सिजनको तरकारीका रूपमा प्रयोग गरिने टुसा सदरमुकाम बेँसीसहरसहितका बजारमा उच्च माग छ ।
चलनचल्तीको भाषामा ‘टुसा’ भनिने यो तरकारी निगालोको मुना हो । त्यसैले कानुनतः ‘टुसा’ सङ्कलन र बिक्री गर्न पाइँदैन । यसैलाई आधार बनाएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सामुदायिक वन समूहले बेला बेलामा अवैध वनस्पतिको ओसारपसार र बिक्री गरेको भनेर कारबाही गर्ने बताउँछन् । मिठो तरकारी मानिने टुसाको व्यापार भने दिनहुँ बढ्दो छ । सदरमुकाम बेँसीसहरलगायत, सुन्दरबजार, भोटेबडार, खुदी, भोर्लेटारका साथै गाउँ गाउँमा यसको व्यापार खुलमखुला हुने गरेको छ । लमजुङ आउने तथा कतिपय स्थानीय बासिन्दाले कोसेलीका रूपमा विदेशसमेत ‘टुसा’ पठाउने गरेका छन् ।
एक्याप, वन कार्यालय र सामुदायिक वनका पदाधिकारीले कानुनतः अवैधानिक भने पनि यसको सङ्कलन र बिक्री खुलेयाम हुने गर्छ । वन, एक्याप, स्थानीय प्रशासन, सुरक्षा अधिकारीमै ‘टुसा’ किन्न हारालुछ हुन्छ । बेँसीसहरबाट मात्रै एक दिनमा १० बोराभन्दा बढी टुसा बिक्री हुने गरेको यहाँका थोक बिक्रेता बताउँछन् । एक मुठा टुसाको ६० देखि एक सय रुपियाँसम्म बिक्री हुने गर्छ ।
टुसालाई जथाभाबी भाँच्दा यो वनस्पतिको स्रोतमै असर पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार टुसासँग आश्रित जीवको जीवन सङ्कटमा पर्ने भएकाले निगालोको टुसा भाँच्न प्रतिबन्ध लगाइएको हो । हिमालको फेदी, लेक र खर्कमा हुने निगालोको पात रातोपाण्डा, मृगका पाँच वटा जात र हिमाली कालो भालुको मन पर्ने आहारा हो । निगालोको पात मात्र खाएर बाँच्ने यी जनावरको जीवन सङ्कटमा पर्ने विज्ञ बताउँछन् । साथै निगालोको चोयाबाट बनाइने डोको, डालो, मान्द्रो, स्याखु र ढक्की जस्ता स्थानीय उत्पादनका स्रोत नै बन्द हुने हुनाले पनि टुसालाई संरक्षण गरेर निगालोका रूपमै हुर्कन दिनुपर्ने हुन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले टुसा जथाभाबी भाँचेर बिक्री गर्दा वन पैदावारमा असर पर्नेबारे सचेतना जगाउँदै आएको छ । जथाभाबी भाँच्न प्रतिबन्ध लगाउनुका साथै टुसा भाँच्न पुर्जी काट्नुपर्ने नियम बनाए पनि यसको कारोबार भने रोकिएको छैन ।
उच्च लेक तथा हिमाली क्षेत्रमा पाइने टुसा सङ्कलन आफैँमा सजिलो छैन । भाँच्ने काम सबैभन्दा कठिन हुन्छ । बिहान ३ बजे उठेर जङ्गल पुग्नु पर्छ । भुजुङका किसान भीमप्रसाद गुरुङ भन्नुहुन्छ, “तीन घण्टा हिँडेर, जङ्गलको बाटो, बाघभालुको डर अनि कहालीलाग्दो भिरबाट खसेर लड्ने खतरा पनि उत्तिकै छ । खेतीपाती गर्ने जग्गा नभएपछि परिवार पाल्न टुसा भाँच्नुपर्ने बाध्यता छ ।”
एक्यापको संरक्षण क्षेत्रभित्र पर्ने भुजुङ, उत्तरकन्या, सिम्पानी, खुदी, घनपोखराका किसानले मात्रै दैनिक रूपमा एक जनाले पाँच सयदेखि एक हजार रुपियाँसम्मको टुसा बिक्री गर्छन् । भुलभुले, उस्ता, बन्सार, घेर्मु, भुजुङ, पसगाउँ, घनपोखरालगायतका जङ्गलमा टुसा प्रशस्त मात्रामा पाइन्छ ।
जङ्गलमा हुर्किएर बजारमा बिक्री हुने यो वनस्पतिलाई खेतीका रूपमा विकास गर्न सकिने कृषि प्राविधिक बताउँछन् । व्यावसायिक खेती गर्नतर्फ अहिलेसम्म पनि कुनै निकायको ध्यान जान सकेको छैन । नेपालमा खेर गइरहेका लेक र खर्कमा निगालोको व्यावसायिक खेती गरियो भने आम्दानीसँगै भूक्षयको संरक्षण हुने डिभिजन वन कार्यालय लमजुङका वन अधिकृत सन्तोष खनालले बताउनुभयो । खनालले भन्नुभयो, “निगालोको खेती गर्न अप्ठ्यारो पनि छैन । एक पटक लगाएपछि पाँच, छ वर्षसम्म केही पनि गर्नु पर्दैन, बर्सैपिच्छे टुसा झिक्ने काम गरे मात्र पुग्छ ।”