• १३ साउन २०८२, मङ्गलबार

ताप्लेजुङमा ६२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

blog

धान रोपाइँ गर्दै सिरिजङ्घा गाउँपालिका–३, सिकैँचाका किसान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १३ गते ।
ताप्लेजुङमा हालसम्म करिब ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन दोस्रो साता बित्नलाग्दा अर्थात् साउन १३ गते सम्ममा ६१.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

जेठ महिनादेखि नै रोपाइँ सुरु गरिने हिमाली जिल्ला ताप्लेजुङमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ कम भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यसवर्ष पानीको अभावका कारण समयमा रोपाइँ हुन नसकेको हो । धान खेतीका लागि पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २७ प्रतिशतले रोपाइँ कम भएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गतवर्ष साउन दोस्रो साता सम्ममा ८९ प्रतिशत रोपाइँ सकिएको थियो । यसवर्ष भने प्राय, वर्षा निरन्तर भइरहे पनि रोपाइँ गर्ने गरी अर्थात पानीको मूल पलाउने गरी वर्षा नभएकाले समयमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म सिँचाइका लागि कुलो सञ्चालन हुने क्षेत्रमा मात्र रोपाइँ सकिएको छ ।

पानीको अभावकै कारण जिल्लाको माथिल्लो भेगमा समेत अहिलेसम्म रोपाइँ भइनसकेको किसानले बताएका छन् । माथिल्लो भेगमा अब वर्षा भए पनि धान खेतीका लागि समय पछुवा (ढिलो) भइसकेको किसानको भनाइ छ । जिल्लाको तल्लो औल क्षेत्रमा भने साउन तेस्रो सातासम्म रोपाइँ गर्न पाए धान फल्ने स्थानीय किसान बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल खेतजीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ । यहाँका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन् । यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत लगाउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।