• १३ साउन २०८२, मङ्गलबार

सारङ्गी भेटिँदैनन् गन्धर्व समुदायका घरमा

blog

सारङ्गी बजाउँदै धनजित गन्धर्व ।

ज्योति पन्थी 

बबई (बर्दिया), साउन १३ गते । केही वर्षअघिसम्म गाउँघरमा सारङ्गी बजाएर सन्देश पुर्‍याउने बर्दियाको बढैयाताल गाउँपालिका–४ का ६५ वर्षीय विजित गन्धर्वले अचेल सारङ्गी बजाउन छाड्नुभएको छ । 

मोबाइल र टेलिभिजनको विकाससँगै विजित गन्धर्व मात्र होइन, उहाँका साथीहरूले पनि अचेल सारङ्गी बजाउन छाडेका छन् । आफ्नो पुर्खाले गाउँ गाउँमा पुगेर सुखदुःखका गीत गाएर आफ्नो घरपरिवारको पालनपोषण गर्दै आएको भए पनि पछिल्ला दिनमा गन्धर्व बस्तीमा सारङ्गीको धुन नभएर मोबाइलका गीत सुनिन थालेका छन् । 

पछिल्लो समय पुस्ता हस्तान्तरणसँगै गन्धर्व समुदायका व्यक्ति आफ्नो परम्परागत सारङ्गी बजाउने पेसा नै परिवर्तन गरेर कामको खोजीमा सहर पस्न थालेका छन् । विजित गन्धर्वले गाउँमा बढ्दो आधुनिकीकरणले गन्धर्व समुदायको पेसा नै सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले गाउँमा सारङ्गी बजाउँदा गाउँका मानिस निकै खुसी हुन्थे, हामीलाई पनि आनन्द आउँथ्यो तर पछिल्लो पुस्तामा कसले सारङ्गीको महत्व बुझेको छ र ? यस्तै हो भने हामीलाई त बाँच्नै गाह्रो हुने भयो ।” 

सुर्खेत, जाजरकोट र रुकुमलगायतका जिल्लाबाट बर्दियाको बढैयाताल–४ मा बसोबास गर्ने गन्धर्वले पहिले जस्तो पेसा व्यवसाय अँगालेका छैनन् । गन्धर्व समुदायका पछिल्लो पुस्ताले सारङ्गी बजाउनुको सट्टा अरू पेसा व्यवसाय गर्न थालेका छन् । उहाँले भन्नुभयो, “हाम्रा छोराछोरीका हातमा सारङ्गी देखिँदैनन् अहिले त हात हातमा मोबाइल फोन छन् ।” 

बढैयाताल गाउँपालिका–४ का ६५ वर्षीय कैलाशकुमार गन्धर्वले पहिला पहिला सन्देश बोकेर सारङ्गी बजाउँदै घर घरमा पुग्ने गरेका गन्धर्व मोबाइल र टेलिभिजनका कारण आफ्नो पेसा सङ्कटमा परेको बताउनुभयो । बढैयाताल गाउँपालिका–४ का वडा सदस्य धनजित गन्धर्वले भन्नुभयो, “हामीले गाएको कसैले सुन्दैनन् । सारङ्गीको महत्व थाहा नपाउने पछिल्लो पुस्ताले हामी सारङ्गी लिएर गाउँघरमा पुग्दा एकछिनपछि आउनुस् भन्ने गर्न थालेपछि पेसा नै छोड्नु परेको छ ।”

बढैयाताल गाउँपालिका–४ का वडाध्यक्ष नरे थापाले समाजमा पछिल्लो समय मोबाइल फोन र टेलिभिजनको प्रयोग बढेका कारण गन्धर्वको सारङ्गी बजाउने पेसा बन्द भएको बताउनुभयो ।

बर्दिया जिल्लाको एक मात्र स्थानमा बसोबास गर्दै आएका गन्धर्व आफ्ना बालबालिकालाई पनि सारङ्गी बजाउन सिकाउँदैनन् । कतिपय गन्धर्वका घरमा सारङ्गी भेटिँदैन । गन्धर्व समुदायका पछिल्लो पुस्तालाई सारङ्गीको धुन बजाउन पनि आउँदैन । गाउँघरमा खुसियाली हुने खबर थाहा पाउँनासाथ सारङ्गी लिएर हर्षबढाइँ गर्न पुग्ने गन्धर्व समुदायलाई पछिल्लो पुस्ताले बोलाउन पनि छाडेको छ ।