सिँजा समाचारदाता
सिँजा (जुम्ला), साउन १३ गते । जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्राका टक्क नेपालीले आफ्नो तीनतले पक्की घरको छतमा जहाजको प्रतिमा निर्माण गर्नुभएको छ । निर्माण गरिएको जहाजको प्रतिमा टाढाबाट हेर्दा दुरुस्तै वास्तविक जहाज जस्तै देखिने गरेको छ ।
अबको लक्ष्य, आफ्नो मेहनत र प्रयोगमार्फत एक दिन आकाशमा जहाज उडाउनु रहेको उहाँले बताउनुभयो । करिब एक लाख रुपियाँ बराबरको व्यक्तिगत लगानीमा उहाँले जहाजको प्रतिमा बनाउनुभएको हो । इलेक्ट्रोनिक्स क्षेत्रमा काम गर्दै आएका उहाँले सामान ल्याउने गाडीचालकलाई घर सजिलै चिनिने बनाउने उद्देश्यले पनि यस्तो प्रतिमा निर्माण गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “छतमा जहाज देखिएपछि सामान ल्याउनेले सजिलै चिन्न सक्छन् भन्ने सोचले पनि बनाएको हुँ ।”
यस अनौठो सिर्जनाले उहाँको घरमा दैनिक भिड लाग्ने गरेको छ । जहाज हेर्न आसपासका गाउँका मानिससमेत आउने गरेका छन् । नेपाली यसअघि प्याराग्लाइडिङ निर्माण गरी उडाउन सफल भइसक्नुभएको छ । अबको लक्ष्य उड्न सक्ने जहाज बनाउनु रहेको उहाँले बताउनुभयो । ‘नेपाल वायु सेवा निगम’ को प्रतीकात्मक झल्को दिने गरी बनाइएको जहाजको प्रतिमा आफ्नो भविष्यको सपनासँग जोडिएको उहाँले सुनाउनुभयो । विविध नवप्रवर्तन र सिर्जनात्मक कार्यमा सक्रिय रहँदै आएका नेपालीलाई विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त भइसकेको छ । वडाध्यक्ष छिरिङ महतले नेपालीले गरेको काम युवाका लागि प्रेरणादायी भएको बताउनुभयो । उहाँले प्रविधिसँग जोडिएर नयाँ काम गर्न लागेका युवालाई स्थानीय सरकारले हौसला दिनुपर्ने सुझाव दिनुभयो ।