कालीकोट समाचारदाता
कालीकोट, साउन १३ गते । बहुचर्चित त्रिदेशीय सडक कर्णाली कोरिडोरका नौ वटा पुलको निर्माण अझै सुरु भएको छैन । कोरिडोर अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने ती नौ वटा पक्की पुलको विसं २०७९ असार ३० गते ठेक्का सम्झौता भएर पनि काम अझै सुरु नहुँदा यातायातका साधनले सास्ती खेप्नु परेको छ ।
सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले कोरिडोरका सबै पुल सडक डिभिजन कार्यालय हुम्लाले हेर्ने बताउनुभयो । कालीकोटदेखि बाजुरासम्मको सडक बाजुराको पिलुचौर कार्यालयले हेर्छ । सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख नेपालीले भन्नुभयो, “ठेकेदारले काम नै सुरु नगरेकाले समस्या भइरहेको छ ।”
निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधान अनुसार नौमध्ये सात वटा पुलको त डिजाइन नै स्वीकृत हुन बाँकी रहेको उहाँको भनाइ छ । ती ठेक्काको अवधि सकिन ती महिना मात्र बाँकी छ । आगामी असोज ३० सम्म मात्र ठेक्का अवधि छ ।
कालीकोटका सांसद महेन्द्रबहादुर शाहीले कालीकोट खण्डका तीन, बाजुराको बडीगाड जुड्डी, कवाडीखोला, हुम्लाको गल्फागाड, सल्लीसल्लासहित नौ वटा पुल ठेक्का भएर पनि काम नभएको जनाउँदै असार २३ गतेको संसद् बैठकमा ध्यानाकर्षण गराउनुभएको थियो । “कर्णाली कोरिडोरका नौ वटा पुल अलपत्र छन्,” उहाँले भन्नुभयो, “अस्थायी बेलिब्रिज बनेकोमा सरकार उत्सव मनाइरहेको छ ।” प्रतिनिधि सभा सदस्य शाहीले कर्णाली राजमार्ग र कोरिडोरमा बजेट बढाउन माग गर्नुभएको थियो । कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको फुगाडखोलाको बेलिब्रिज २०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेका बेला सडक बन्द हुने गरेको छ ।
पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाडखोला, सान्नीत्रिवेणी र रास्कोटको बिचमा पर्ने सान्निगाडखोला र नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालुखोलाको पक्की पुल बनाउने ठेक्का पाएको बिकोई कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख नेपालीले बताउनुभयो । बनाएको डिजाइन सडक विभागका अधिकारीलाई पठाएपछि दिएको नतिजा समावेश गरेर त्रुटि सुधार्नुपर्ने हुन्छ भन्दै उहाँले कन्सल्टेन्ट व्यस्त भएर समय नदिँदा ढिलाइ भएको जनाउनुभयो । कालीकोटका तीन वटा पुल १८ करोड रुपियाँमा ठेक्का पाएको बिकोई कन्स्ट्रक्सनका हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम सुरु हुन नसकेको दाबी गर्नुभयो । वर्षाले फुगाडखोला बढेपछि खोला तर्न पुल नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ । नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल २०७६ को असारमा आएको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । कर्णाली कोरिडोरको फुगाडखोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालीकोटका स्थानीयले गत बुधबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
प्रजिअ भट्टराईले फुगाडखोलामा तत्काल यात्रु आवागमन गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पिलुचौरका प्रमुखलाई जानकारी गराएको भन्दै सडक विभागका महानिर्देशकसँग कुरा गरेर निकास खोजिने प्रतिबद्धता जनाउनुभएको छ ।