साँफेबगर समाचारदाता
अछाम, साउन १३ गते । बयालपाटा अस्पताल प्रदेश सरकारमातहत सञ्चालन गर्न बाटो खुलेको छ । केही वर्षदेखि आर्थिक सङ्कटको सामना गरिरहेको अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न बाटो खुलेको हो । बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी कानुन बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो । भदौ १ गते बाट ५० बेडको अस्पताल प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गैरसरकारी संस्था न्याय हेल्थ नेपालमार्फत सञ्चालन भइरहेको अस्पताल पछिल्लो समय दाताले हात झिक्दै गएपछि आर्थिक सङ्कटमा थियो । सामाजिक विकासमन्त्री मेघराज खड्काले बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने निर्णय ऐतिहासिक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले केवल भौतिक पूर्वाधार मात्र हैन, गुणस्तरीय सेवा दिने संरचना निर्माण गर्न खोजेका हौँ, बयालपाटा अस्पताल प्रदेशमातहत ल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षा दुवै पूरा गर्न खोजेका छौँ ।”
स्वास्थ्य सेवा राज्यको उत्तरदायित्व मात्रै नभई जनताको विश्वास र जीवन रक्षासँग पनि जोडिएको विषय हो भन्दै मन्त्री खड्काको ५० बेडको सुविधा सम्पन्न अस्पताल बनाइने बताउनुभयो ।
आफूले चुनावी घोषणापत्रमा नै बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने कुरा उल्लेख गर्नुभएका खड्का सामाजिक विकासमन्त्री बन्नु भएपछि निरन्तर अस्पतालको व्यवस्थापनबारे पहल गरिरहनुभएको थियो । आफ्नै पहलले स्थानीय जनताको स्वास्थ्यप्रति देखिएको गम्भीर अभावलाई सम्बोधन गर्नुका साथै सरकार जनताप्रति उत्तरदायी हुँदै गएको स्पष्ट सङ्केत दिएको उहाँको दाबी रहेको छ । प्रदेश सरकारमातहत आएपछि अस्पतालमा जनशक्ति, औषधी, उपकरण, विशेषज्ञ सेवा तथा मातृशिशु स्वास्थ्य, आकस्मिक सेवा, सर्जरी सेवालगायतका थप सेवा विस्तार गरिने मन्त्री खड्काले बताउनुभयो । स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिने उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मी यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमका रूपमा लिइरहेका छन् । आधुनिक भौतिक संरचनामा सञ्चालित बयालपाटा अस्पताल १७ वर्षपछि सरकारको मातहतमा आउने भएको छ ।
अस्पतालले अछामसहित बाजुरा, डोटी, कालीकोट, दैलेखलगायतका दुर्गम जिल्लाका नागरिकलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यो अस्पताल दुर्गमका जनताको स्वास्थ्य सेवामा वरदान नै साबित भएको छ । अस्पतालले हाल दिइरहेको सेवा सुविधामा प्रदेश सरकारको मातहतमा सञ्चालन भएपछि पनि कुनै कमी नहोस् भन्नेतर्फ सरोकारवाला सचेत छन् ।