चौमाला समाचारदाता
चौमाला (कैलाली), साउन १३ गते । सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको दोदोधरा अस्पताल सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिरमा ३९६ वटा पालिकामा एकैपल्ट अस्पताल निर्माण गर्न शिलान्यास गर्नुभएको थियो । त्यसमध्येकै दोदोधरा अस्पताल सञ्चालनमा आएको छ ।
नेपालका ७५३ स्थानीय तहमा पहिलो पटक बर्दगोरिया गाउँपालिकाले अस्पताल सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताउनुभयो । उहाँले अस्पतालको भौतिक निर्माणमा १८ करोड रुपियाँ खर्च भएको र प्रयोगशालाका उपकरणलगायतका सामग्रीमा प्रदेश सरकारको सहयोगमा २५ करोडसम्म खर्च भएको जानकारी दिनुभयो ।
छिमेकी घोडाघोडी र लम्कीचुहा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको पूर्वी–दक्षिणी क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा दुई जना एमबिबिएस चिकित्सकसहितको व्यवस्था गरिएको छ । २४ सै घण्टा आकस्मिक सेवा दिँदै आएको दोदोधरा अस्पतालले शल्यक्रिया सेवासमेत विस्तार गर्ने अध्यक्ष कुँवरले बताउनुभयो ।
अस्पतालमा ४८ जनाको जनशक्ति रहेको छ भने अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरुसमेत गरेको छ । साथै सर्पदंश उपचार सेवा, सिकलसेल एनिमिया रोगको समेत उपचार हुने गरेको छ ।
अस्पतालले आँखा उपचार, निःशुल्क रगत, स्वास्थ्य बिमाको कार्यक्रम, शववाहन, घरदेखि घाटसम्म महाप्रस्थान, मृत्यु भएपछि हरेक नागरिकलाई १० हजार किरियाखर्चसमेत दिने गरेको गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले बताउनुभयो । गाउँपालिकाको आगामी योजना सेवा विस्तार गरेर १५ बाट ५० शय्याको अस्पताल डायलासिस, पित्तथैली, पत्थरी, एपेन्डिक्स जस्ता अपरेसन र आइसियुसमेत सञ्चालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।
गाउँमै सस्तो सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि स्थानीयमा खुसी छाएको छ । उपचारमा आएका नरेश विकले घरआँगनमा आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा खुसी भएको बताउनुभयो । उहाँले न्यून आयस्रोत भएका आफूहरू जस्तोलाई बाहिर गएर उपचार गर्न नसकिने बताउँदै घरनजिकै सस्तोमा उपचार पाउँदा सहज भएको बताउनुभयो । अर्को स्थानीय श्यामलाल चौधरीले घरमै सर्वसुलभ उपचार पाएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले राम्रो काम गरेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा एकसाथ शिलान्यास गरिएका ५३ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र अवस्थामा रहेको बेला कैलालीको बर्दगोरियाले भने घरमै सुविधासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अरू ठाउँमा भने जग्गा प्राप्तिमा ढिलाइ, ठेकेदारको लापर्बाही, बजेट अभावलगायत विभिन्न कारणले अस्पताल निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको जनप्रतिनिधिले बताएका छन् ।
आधारभूत अस्पतालको शिलान्यासको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल निर्माण हुन सकेका छैनन् । केही पालिकाले त जग्गासमेत व्यवस्था गर्न सकेका छैनन् । केही पालिकामा भवन बने पनि अस्पताल सञ्चालन हुन सकेको छैन ।