सर्लाही समाचारदाता
सर्लाही, साउन १३ गते । सर्लाही भन्सार कार्यालय मलङ्गवामा समयमै लिलामी प्रव्रिmया अगाडि नबढ्दा करोडौँ मूल्यका सवारीसाधन खुला आकाशमुनि थन्किएर नष्ट हुने अवस्थामा पुगेका छन् ।
यसले राजस्वमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन लामो समयदेखि सर्लाही भन्सार कार्यालयमा थन्किएका हुन् ।
समयमै लिलामी नहुँदा यी सवारीसाधन अब प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका भन्सार कार्यालयका कर्मचारीले नै बताउने गरेका छन् । सर्लाही भन्सार कार्यालयमा राजस्व बुझाउन आउनुभएका मलङ्गवा नगरपालिका–२ का स्थानीय श्यामकुमार साहले लामो समयदेखि थन्किएका सवारी लिलामीमा बेवास्ता गरिएको बताउनुभएको छ ।
साहले बेलैमा सवारीसाधन लिलामी नगरिँदा राज्यलाई राजस्वमा ठुलो घाटा पुगिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “सुरुमा बरामद गरेर ल्याउँदा राम्रै अवस्थामा रहेका गाडी अहिले कबाडमा परिणत भएका छन्,” साहले भन्नुभयो, “यसले त राज्यलाई ठुलो राजस्व घाटा पुगिरहेको छ तर कसैलाई वास्ता छैन ।”
चोरी, पैठारी, अवैध सामान ढुवानी तथा नक्कली नम्बर प्लेटसहित प्रयोगमा आएका सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँदै आएका छन् । भन्सार कार्यालयका अनुसार यस्ता अधिकांश सवारीसाधन भारतबाट भित्रिएका हुन् ।
बर्सौंसम्म खुला स्थानमा थन्किँदा गाडीका पाटपुर्जामा खिया लागेको छ भने झाडी बढेर छपक्कै छोपेको छ । भन्सारमा रहेका सवारीसाधन बिव्रmीबाट राज्यले असुल गर्न सक्ने करोडौँ मूल्यको भन्सार शुल्क र कर गुमिरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
सर्लाही भन्सार कार्यालय मलङ्गवाका प्रमुख ठाकुर आचार्यले गत आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधन लिलामी गर्न तीन पटक प्रव्रिmया अगाडि बढाइएको भए पनि लिलामी हुन नसकेको जानकारी दिनुभयो । प्रमुख भन्सार अधिकृत आचार्यले भन्नुभयो, “लिलामी नभएपछि अब यी सवारीसाधनलाई सुरक्षितसँग राख्न सेड घर निर्माणका लागि यो वर्ष बजेट माग गरिएको छ ।”
सुरक्षा निकायले भन्सार कार्यालयमा बुझाएको सवारीसाधन सुरक्षितसँग राख्न र समयमै लिलामी गर्न सम्बन्धित निकाय उदासीन बनेको गुनासो व्यापक रहेको छ ।