नवराज नेपाली
बागलुङ (गलकोट) साउन १२ गते । पछिल्लो समय समृद्धि र देश विकासको कुरा ठुलै गरिन्छ । प्राय नेता र जनप्रतिनिधिले समृद्धिका ठुला सपनाहरू बाँडेका हुन्छन् । तर त्यो सपना पूरा गर्नका लागि हाम्रो स्रोतको अवस्था कस्तो छ भन्ने बारे कमै मात्र छलफल भएको पाइन्छ ।
समृद्धिको लक्ष्य प्राप्तिका लागि आर्थिक स्रोत महत्त्वपूर्ण हुन्छ । आन्तरिक आर्थिक स्रोत बलियो नहुँदासम्म समृद्धिको यात्रा पूरा गर्न सकिँदैन । समृद्धिको यात्रा पूरा गर्न आन्तरिक स्रोत बलियो हुनै पर्छ ।
बागलुङ जिल्लाका १० स्थानीय तहको आन्तरिक स्रोतलाई हेर्यौँ भने अत्यन्त न्यून छ । आर्थिक वर्ष २०८१/८२मा बागलुङका १० स्थानीय तहमा सङ्घ, प्रदेश र स्थानीय स्रोतबाट गरी ६ अर्ब १४ करोड २१ लाख ६४ हजार ५८९ रहेको छ । त्यसमा पालिकाको आन्तरिक स्रोत (राजस्व) जम्मा १६ करोड १९ लाख ६८ हजार ६०८ रहेको छ । यो भनेको कुल बजेटमा आन्तरिक स्रोतको योगदान जम्मा ३ प्रतिशत हो ।
त्यसमा बागलुङ नगरपालिकाले पालिकाको कुल बजेटको ६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । यस वर्ष बागलुङ नगरपालिकाले एक अर्ब सात करोड ४५ लाख ८४ हजार ३५७ बजेट रहेको थियो । त्यसमा पालिकाले २० करोड ७ लाख ४० हजार १७१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राख्यो तर पूरा हुन सकेन । पालिकाले लक्ष्यभन्दा निकै कम ६ करोड ९२ लाख ६० हजार ३४५ राजस्व सङ्कलन गर्यो ।
बागलुङ नगरपालिकाको आन्तरिक स्रोतमा महत्त्वपूर्ण योगदान पुर्याउने विषयमा सम्पति कर, बाहल कर, व्यवसाय कर, प्रशासनिक शुल्क, नाता प्रमाणित प्रमाण–पत्र, व्यक्तिगत घट्ना दस्तुर, फोहोरमैला शुल्क, भूमि कर लगायत रहेको लेखा अधिकृत डिल्ली प्रसाद शर्माले बताउनुभयो ।
त्यस बाहेक कुल बजेटको २ प्रतिशतभन्दा धेरै राजस्व सङ्कलन गर्ने पालिकामा जैमिनी, ढोरपाटन, गलकोट र ताराखोला गाउँपालिका रहेका छन् ।
जैमिनी नगरपालिकाले ६८ करोड आठ लाख ५० हजार ५०० बजेट विनियोजन गरेकोमा जम्मा १ करोड २० लाख चार हजार ४१६ रुपियाँ राजस्व सङ्कलन गर्यो यो भने जम्मा २ प्रतिशत हो । पालिकाले एक करोड ३६ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गर्याे ।
ढोरपाटन नगरपालिकाले ६८ करोड आठ लाख ५० हजार ५०० को बजेट ल्याएकोमा एक करोड ६८ लाख राजस्व सङ्कलन गर्याे । पालिकाले यस वर्ष दुई करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । ढोरपाटन नगरपालिकालेपनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन ।
गलकोट नगरपालिको दुई करोड एक लाख रुपियाँ राजस्व सङ्कलन गर्याे । जहाँ दुई करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । पालिकाले ६९ करोड ११ लाख ४२ हजार ५०० विनियोजन गरिएको थियो । यसमा आन्तरिक श्रोतको योगदान जम्मा ३ प्रतिशत रहेको छ ।
काठेखोला गाउँपालिकामा आन्तरिक राजस्वको योगदान जम्मा १ प्रतिशत रहेको छ । पालिकाले ५८ करोड ७७ लाख २३ हजार विनियोजन गरेकोमा जम्मा ७७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियोे ।
ताराखोला गाउँपालिकोले भने लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पालिकाले ६७ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा एक करोड २३ लाख ३७ हजार ८१९ राजस्व सङ्कलन गर्यो । पालिकाले गत वर्ष ४० करोड ७५ लाख ५४ हजार बजेट विनियोजन गरेको थियो । जसको आन्तरिक राजस्वको योगदान ३ प्रतिशत रहेको छ ।
त्यस्तै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्नेमा निसीखोला गाउँपालिका पनि रहेको छ ।
पालिकाले ५२ लाख ५० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ६२ लाख रुपियाँ सङ्कलन गरेको छ । यो भनेको पालिकाको कुल बजेटमा आन्तरिक राजस्वको योगदान जम्मा १ प्रतिशत हो । पालिकाले गत वर्ष ५० करोड २४ लाख १६ हजार ९४४ रुपियाँ विनियोजन गरेको थियो ।
त्यस्तै बरेङ गाउँपालिकाले पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ४० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४३ लाख ३५ हजार३७१ हजार राजस्व सङ्कलन गरेको छ । तर पनि कुल बजेटमा आन्तरिक राजश्वको योगदान जम्मा एक प्रतिशत नै रहेको छ । पालिकाले यस वर्ष ४० करोड १० लाख ४८ हजार ५६४ बजेट विनियोजन गरेको थियो ।
बडिगाड गाउँपालिकाले ७३ करोड चार लाख ३४ हजार बजेट ल्याएकोमा एक करोड रुपियाँ राजस्व सङ्कलन गर्याे । यो भनेको पालिकाको कुल बजेटमा राजस्वको योगदान १ प्रतिशत हो । पालिकाले राजस्व सङ्कलन गर्ने लक्ष्य एक करोड ६० लाख राखे पनि पूरा गर्न सकेन ।
तमानखोला गाउँपालिकाले ३८ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा जम्मा ३२ लाख ३० हजार ६५७ राजस्व सङ्कलन गर्याे । कुल बजेटमा राजश्वको योगदान पनि जम्मा १ प्रतिशत रहेको छ पालिकाले गत वर्ष ३३ करोड १९ लाख ४५ हजार ५०० बजेट विनियोजन गरेको थियो ।
आन्तरिक स्रोतको योगदानमा पनि उद्योग, व्यवसायको योगदान नगन्य मात्रामा रहेको छ । बागलुङ नगरपालिका, गलकोट, ढोरपाटन र जैमिनीमा उद्योग, व्यवसाय, सिफारिस, घरबाहल करको महत्त्वपूर्ण योगदान छ । अन्य पालिकामा हेर्याे भने सिफारिस र सम्पत्ति मूल्याङ्कन करको योगदान महत्त्वपूर्ण छ ।