अविनाश चौधरी
धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।
सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता लिएको थियो । सो पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । सरकारबाट कुनै पनि पार्टी बाहिरिएपछि सरकार प्रमुखले विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
यसैबिच, सोमबार बसेको नेपाली काँग्रेसको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको छ । बैठकले मुख्यमन्त्रीको पक्षमा अनिवार्य मतदान गर्न ह्विप जारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार छ । नेपाली काँग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्य गरेर प्रदेश सरकारको पक्षमा बहुमत कायमै रहेको छ । सुदूरपश्चिम प्रदेशमा २७ जनाले समर्थन जनाएपछि बहुमत पुग्ने गर्दछ ।