काठमाडौँ, साउन १२ गते । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले एन्फा यु–१६ लिगमा सोमबार जित निकालेका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हरायो । मनाङको जितमा ईश्वर परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले गोल गर्नुभयो ।
जावलाखेलका पुजन सुनारले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले नौ खेलबाट २० अङ्क बनाएको छ । पराजित जावलाखेलको समान खेलबाट १० अङ्क छ ।
यस्तै अर्को खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा मच्छिन्द्रलाई जिताउन अर्जुनबहादुर कढायतले दुई तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले एक एक गोल गर्नुभयो ।
जितसँगै मच्छिन्द्रले पनि नौ खेलबाट २० अङ्क बनाएको छ । आर्मी समान खेलबाट ६ अङ्क छ । लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।