काठमाडौँ, साउन १२ गते । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही साउन १५ गते बिहीबारदेखि दशरथ रङ्गशालामा उक्त कार्यक्रमको औपचारिक रूपमा सञ्चालन गर्न लागेको हो ।
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा फिफा फुटबल फर स्कुल कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी, एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहको उपस्थिति रहेको थियो ।
फिफाले एन्फासँगको सहकार्यका ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध गराउने छ ।
यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको छ ।