• १२ साउन २०८२, सोमबार

चाप धान्न नसक्ने भयो विमानस्थल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १२ गते । हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । 

पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । 

सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् ।