• १३ साउन २०८२, मङ्गलबार

सल्यानको करदाता कार्यालयबाट उठायो ५० करोड ७५ लाख राजश्व सङ्कलन

blog

करदाता सेवा कार्यालय, श्रीनगर सल्यान । तस्बिर: शङ्कर केसी

शङ्कर केसी,

सल्यान, साउन १२ गते । करदाता सेवा कार्यालय सल्यानले एक वर्षको अवधिमा ५० करोड ७५ लाख १८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वी गरेर तीन जिल्ला सेवा क्षेत्र रहेको करदाता सेवा कार्यालय सल्यानले आन्तरिक राजस्व विभागबाट प्राप्त लक्ष्य भन्दा करिब २० प्रतिशत कम तर अघिल्लो आर्थिक वर्षभन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख नवीनकुमार वलीका अनुसार आर्थिक वर्ष २०८१-०८२ का लागि ६३ करोड ३१ लाख ३९ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य थियो । लक्ष्य भन्दा १९.८३ प्रतिशत कम राजस्व उठेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८१-०८२ मा आयकर तर्फ २९ करोड ८८ लाख ४२ हजार, मूल्य अभिवृद्धि कर तर्फ १७ करोड ६९ लाख ७३ हजार रुपियाँ सङ्कलन भएको छ । कार्यालयका अनुसार स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले बहाल कर बर्सेनि घट्दो क्रममा छ ।

एक करोड ३७ लाख ९४ हजार रुपियाँ बहाल कर सङ्कलन भएकोमा अन्तःशुल्क कर तर्फ एक करोड ३० लाख १७ हजार रुपियाँ तथा ब्याज कर बापत ४८ लाख ७५ हजार र शैक्षिक करबाट १६ हजार रुपियाँ मात्रै सङ्कलन भएको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६२ करोड ७९ लाख १६ हजार रुपियाँ लक्ष्य रहेकोमा ४७ करोड ७० लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

राजस्व सङ्कलनको लक्ष्य नै बढी हुने एवम् राजस्व सङ्कलनको मुख्य लक्ष्य आयकर र मूल्य अभिवृद्धि कर भएकाले सरकारी रकम नै बढी खर्च नभएमा राजस्व सङ्कलन कम हुने कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा केही मुख्य ठुला आयोजनाहरूको भुक्तानी नहुँदा मूल्य अभिवृद्धि करको रकम कम उठेको कार्यालय प्रमुख वलीको भनाइ छ । “विजक प्रणालीमा पनि चुहावट देखिन्छ, सामान बिक्री गर्दा विजक लिने दिने नहुँदा तथा दर्ता नगरेर नै मदिरा बिक्री वितरण हुने र हाम्रो देशमा ४९ प्रतिशत अनौपचारिक अर्थतन्त्र भएकाले पनि राजस्व कम उठ्ने गरेको छ”, उहाँले भन्नुभयो ।

करदाता सेवा कार्यालय अन्तर्गत व्यवसाय गर्ने जम्मा २० हजार १४४ करदाताहरू रहेका छन् । राजस्व सङ्कलन वृद्धिका लागि कर शिक्षा तथा सचेतना एवं बजार अनुगमन, कर छुट सम्बन्धी जानकारी प्रदान गर्ने गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा करिब ३२० पसलको बजार अनुगमन गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको मातहतमा रहने गरी सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वका करदाताहरूलाई सेवा प्रवाह गर्ने गरी २०७७ मा करदाता सेवा कार्यालयको स्थापना भएको थियो । कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दै आएको छ ।

व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर र भ्याट दर्ता तथा खारेज, कर चुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तः शुल्क विवरण बुझाउने लगायतका सेवा लिन तीन जिल्लाका सेवाग्राहीलाई दाङ जानुपर्ने बाध्यताको अन्त्यका लागि सल्यान श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो ।  कर सङ्कलनलाई थप प्रभावकारी बनाउन कार्यालयले बजार अनुगमन, बक्यौता रकम सङ्कलन र ऐन नियम उल्लङ्घन गर्नेलाई जरिवाना तथा कानुनी कारबाहीका लागि सिफारिस जस्ता कार्यहरू गर्दै आएको जनाएको छ ।