पुस्तकालय भन्नासाथ पुस्तकको घर वा किताबको सङ्ग्रह भन्ने बुझिन्छ । यो पुस्तकालयको सङ्कुचित अर्थ हो । वर्तमान अवस्थामा पुस्तकालयको अर्थ यसभन्दा धेरै व्यापक भइसकेको छ । आजको पुस्तकालयले केवल किताब सङ्ग्रह गर्ने काम मात्र गर्दैन बरु यसको प्रयोग र पाठकसम्म पहुँच पु¥याउने पक्षमा जोड दिन्छ । नेपालमा हाल विद्यालयस्तरमा पुस्तकालय स्थापना गर्ने अभियान जस्तै चलेको देखिन्छ । सरकारका विभिन्न नीतिले पनि पुस्तकालय स्थापनालाई प्राथमिकतामा राखेका छन् । सरकारले आव २०७३/७४ देखि ‘एक विद्यालय, एक पुस्तकालय’ नीति सुरु गरेको हो । प्रयोगको दृष्टिले मूल्याङ्कन गर्दा यसको अवस्था भने न्यून छ । बालबालिकाको रुचि अनुसार पुस्तक छनोट गर्ने अभ्यास नगरी, धेरै विद्यालयले केवल पुस्तक सङ्ग्रह बढाउनेतर्फ मात्र ध्यान दिएको देखिन्छ ।
पुस्तकालयको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभावकारी प्रयोग सुनिश्चित गर्नुपर्ने आवश्यकता झन् टड्कारो बन्छ । विद्यालयमा पुस्तकालय हुनु भनेको पढाइको पहिलो आधार तयार गर्नु हो । विद्यालय पुस्तकालयले विद्यार्थीको आधारभूत साक्षरता सिप मात्र विकास गर्दैन, पठन संस्कृतिको समेत विकास गर्छ । अन्ततः पुस्तकालय विद्यार्थीलाई जीवनभरका लागि आत्मनिर्भर र स्वतन्त्र पाठकका रूपमा तयार गर्ने आधारस्तम्भ रूपमा रहेको हुन्छ ।
बालबालिकाको पुस्तकमा पहुँच
बालबालिकामा पुस्तकको पहुँचका सन्दर्भमा कुरा गर्दा, युनेस्कोका अनुसार नेपाल मात्र होइन, विश्वभरकै अवस्था अत्यन्तै नाजुक देखिएको छ । ग्लोबल बुक अलायन्सका अनुसार विश्वका करिब ६१७ मिलियन बालबालिका तथा किशोरकिशोरीको न्यूनतम पढ्ने क्षमता कमजोर छ । विश्वका ११ विकासोन्मुख देशमा गरिएको एक सर्वेक्षणले कक्षा ४ मा अध्ययनरत १५ देखि २० प्रतिशत बालबालिकासँग आफ्नै कक्षाको पाठ्यपुस्तकसमेत नभएको तथ्य देखाएको छ ।
युनिसेफले सन् २०१९ मा ३५ देशमा गरेको अध्ययनले ३ देखि ५ वर्ष उमेरका आधा बालबालिकासँग घरमा औसत एक मात्र पुस्तक रहेको पत्ता लगाएको छ । ती पुस्तक पनि प्रायः बालबालिकाको आवश्यकता वा मातृभाषासँग मेल खाने खालका छैनन् । अफ्रिकामा गरिएको अध्ययनले त्यहाँ प्रचलित करिब दुई सय भाषामध्ये थोरै भाषाका न्यून मात्र पठन सामग्री उपलब्ध भएको देखाएको छ । युनेस्कोका अनुसार अफ्रिकामा बोलिने ४० भाषाका एक एक पुस्तक मात्र प्रकाशित भएको तथ्य भेटिएको छ । नेपालमा पनि १२५ भन्दा बढी भाषा प्रचलनमा छन् । बालबालिकाका लागि प्रकाशित पुस्तक केही सीमित भाषामा मात्र उपलब्ध छन् । यस कारण एकातिर पुस्तकमा पहुँचको अभाव छ भने अर्कोतिर भएका पुस्तक पनि धेरै बालबालिकाका लागि उपयुक्त भाषामा छैनन् ।
बालबालिकाका लागि कस्ता पुस्तक उपयुक्त
साना बालबालिकामा पढ्ने बानी विकासका लागि चित्रपुस्तक प्रभावकारी हुन्छन् । यस्ता पुस्तकले नयाँ शब्द र वाक्य संरचनासँग बालबालिकालाई परिचित गराउँछन्, जसले उनीहरूको भाषिक सिपलाई मजबुत बनाउन मद्दत गर्छन् । यस्ता पुस्तकले बालबालिकाको पठन वेग तथा बोध क्षमताको विकासमा पनि टेवा पु¥याउँछन् । चित्रपुस्तकमा प्रयोग हुने शब्दावली दैनिक जीवनका कुराकानीसँग मात्र सीमित नभई विविध परिस्थिति र अनुभवको चित्रण गर्ने खालको हुन्छ । जसले भाषिक विकास तथा बालबालिकाको जीवनोपयोगी सिप विकास गर्न थप योगदान पु¥याउँछ । साना बालबालिकाका लागि चित्रपुस्तकले भाषिक रूपमा सबल बनाउनदेखि विद्यालयमा सहज प्रवेश गर्ने वातावरण तयार गर्नसम्म महìवपूर्ण योगदान गर्न सक्छन् । यी पुस्तकले भाषिक मात्र नभई सामाजिक र भावनात्मक विकासमा पनि सहयोग पु¥याउँछ । सामाजिक विषयवस्तु भएका चित्रपुस्तक पढेका बालबालिकामा साझेदारी गर्ने, सहयोग गर्ने र अरूको भावना बुझ्ने प्रवृत्ति बढी देखिन्छ ।
गुणस्तरीय पुस्तक छान्नु आफैँमा चुनौतीपूर्ण कार्य हो । नेपालका विद्यालय पुस्तकालय पुस्तक छनोटका दृष्टिकोणले कमजोर देखिएका छन् । प्रायः बालबालिकाका लागि कस्तो पुस्तक उपयुक्त हुन्छ भन्ने स्पष्ट विश्लेषण नगरी केवल ¥याक भर्ने उद्देश्यले मात्र पुस्तक सङ्ग्रह गरिएको पाइन्छ । फलस्वरूप, बालबालिका आफूलाई उपयुक्त पुस्तक नपाउँदा पुस्तकालय जान, पुस्तक पढ्न वा पुस्तक लिएर घर लैजान उत्साहित हुँदैनन् । एक पटक उत्साह घटेपछि फेरि उत्साह बढाउनु सजिलो हुँदैन, त्यसैले पुस्तक छनोटमा विशेष ध्यान दिनु अनिवार्य हुन्छ ।
विशेष गरी कक्षा १ देखि ५ मा अध्ययरत बालबालिकाका लागि पुस्तक छनोट गर्दा यसको विधा, आकारप्रकार, भाषा, चित्र र विषयवस्तु सबै पक्षलाई विचार गर्नु पर्छ । हरेक पृष्ठमा वाक्य सङ्ख्या, हरेक वाक्यमा शब्द सङ्ख्या र वाक्यको प्रकार जस्ता पक्ष महìवपूर्ण हुन्छन् । चित्रका लागि पृष्ठमा ओगटेको स्थानको प्रतिशत, रङ छनोट, आवरणको आकर्षकता, प्रयोग गरिएको चित्रको प्रकार, फरक पात्र, विस्तृत पृष्ठभूमि र विविधता पनि ध्यान दिनुपर्ने पक्ष हुन् ।
उदाहरणका लागि भर्खर पढ्न सुरु गरेका बालबालिकाका लागि कम आधा अक्षरको प्रयोग भएको, हरेक पृष्ठमा १ देखि २ वाक्य र हरेक वाक्यमा अधिकतम १ देखि ३ शब्द भएको तथा अधिकतम १२ पृष्ठसम्मका पुस्तक उपयुक्त हुन्छन् । त्यस्तै कक्षा ४ देखि ५ का बालबालिकाका लागि केही जटिल वाक्य भएको, वाक्यमा अधिकतम १० देखि १२ शब्द प्रयोग भएको, धेरै कथानक वा लामो समयसम्म एउटै घटना जारी रहने, पूर्वानुमान गर्न अलि कठिन र केही अमूर्त अवधारणासहितका पुस्तक उपयुक्त ठहरिन्छन् । यसरी भाषाशैली, अक्षरको फन्ट, सांस्कृतिक उपयुक्तता, चित्र र कथा दुवैको मिहिन समीक्षा गरी मात्र बालबालिकाका लागि पुस्तक छनोट गर्नु पर्छ ।
यीबाहेक माथिल्लो तह जस्तै कक्षा ६ देखि ८ का लागि लागि सरल कथा तथा तथ्य पुस्तक बढी उपयुक्त हुन्छन् भने कक्षा ९ देखि १२ का लागि जटिल कथानक भएको जसमा मित्रता, परिवार, सहकार्य, इमानदारी आदि विषयमा आधारित पुस्तक उपयुक्त हुन्छन् । जीवन, प्रकृति, समाज, मानवीय मूल्य, विज्ञान, इतिहास, भूगोल, जीव विज्ञान, प्रविधि जस्ता विषयमा आधारित पुस्तक पनि उनीहरू पढ्न मन पराउँछन् ।
पुस्तक पढ्ने बानीको विकास
सर्वप्रथम विद्यालय पुस्तकालयलाई विद्यालयमा उपलब्ध सुविधा होइन, बरु एक न्यूनतम मापदण्डका रूपमा लिनु पर्छ । अर्थात् विद्यालय भन्ने बित्तिकै पुस्तकालय स्वाभाविक रूपमा समावेश हुने तत्वका रूपमा हेरिनु पर्छ । विद्यालय पुस्तकालयमा बालबालिकाको पढ्ने बानी विकास गर्न आवश्यक पुस्तक र सामग्रीको उचित व्यवस्थापन हुन जरुरी छ । अहिले धेरै विद्यालयमा पुस्तकालय त छन् तर ती देखाउनका लागि मात्र राखिएका छन् । प्रयोगका दृष्टिले ती सक्रिय रूपमा सञ्चालन भएको देखिँदैन । विद्यार्थीको शैक्षिक उन्नतिका लागि पुस्तकालयको प्रयोग गर्नुभन्दा पाठ्यपुस्तक र परीक्षामुखी अध्ययनमा बढी जोड दिइएको पाइन्छ । फलस्वरूप, विद्यालय पुस्तकालय अझै पनि केवल देखाउने वस्तुको रूपमा सीमित बनेको छ ।
पुस्तकालयमार्फत बालबालिकामा पढ्ने बानी विकास गर्न विद्यालयको दैनिक तालिकामा सर्वप्रथम पुस्तकालय समय निश्चित गर्नु पर्छ । सो समयका दौरान बालबालिकालाई केवल हुल्ने वा घुमाउने होइन, पढाइका विविध क्रियाकलाप गराउनु पर्छ । पढाइसँग सम्बन्धित सस्वर पढाइ, सँगसँगै पढाइ, जोडी पढाइ र स्वतन्त्र पढाइ जस्ता गतिविधि बालबालिकामा पुस्तकप्रतिको रुचि बढाउन लाभदायक हुन्छन् ।
विद्यालयस्तरमा पठन संस्कृतिको जग बसाल्न सरोकारवाला सबैको सामूहिक प्रयास जरुरी छ । बालबालिकालाई सानै उमेरदेखि पुस्तक पढ्ने बानी बसालेर स्वतन्त्र पाठकमा विकास गर्न सकेमा उनीहरू जीवनपर्यन्त पाठक बन्ने छन् र समाजमा पठन संस्कृति स्थायी रूपमा स्थापित हुने छ । यसका लागि बालबालिकाको पहुँचमा उपयुक्त पुस्तकको सुनिश्चितता हुनु आवश्यक छ । विद्यालय र घर दुवैमा उनीहरूको तह अनुसारका पुस्तक उपलब्ध गराउनु पर्छ । यसका लागि कक्षामा पुस्तक कुना, विद्यालयमा पुस्तकालय, घरमा गृह पुस्तकालय र समुदायमा सामुदायिक पुस्तकालय स्थापना हुनु पर्छ । शिक्षक, अभिभावक, पुस्तकालय शिक्षक, लेखक र समाजका अगुवाहरूले आफ्नो पुस्तक प्रेम, पढाइ अनुभव र मन परेका पुस्तकबारे अनुभव बालबालिकासँग बाँड्नु पर्छ, जसले उनीहरूमा पढाइप्रति उत्प्रेरणा जागृत गर्छ ।
बालबालिकालाई आफूलाई मन परेको पुस्तक छान्न अवसर दिनु, पुस्तक सुझाव गर्नु, पढेका पुस्तकका बारेमा चर्चा, समीक्षा, पुनर्कथन, प्रवाहमय पठन, बोध अभ्यास र नयाँ शब्द सिक्ने अवसर प्रदान गर्नु आवश्यक छ । विद्यालय र पालिकास्तरमा विविध पठन प्रवर्धन गतिविधि सञ्चालन गर्नु पर्छ । अन्ततः पढ्नु केवल शब्दको उच्चारण होइन, यो ज्ञान, सूचना र आनन्दको माध्यम हो । यसले बालबालिकालाई एक्लोपनबाट बचाउँछ, निराशाबाट मुक्त गर्छ र मानवीय संवेदना तथा विवेकको विकासमा सहयोग पु¥याउँछ र बालबालिकालाई आफ्नो संस्कृति, परम्परा, मूल्यमान्यतासँग पनि परिचित गराउँछ ।