• १६ भदौ २०८२, सोमबार

पुस्तकालयको प्रारम्भ

blog

पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकबिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तकबिनाको जीवनले ढुङ्गे युगको स्मरण गराउँछ । समाजमा आज जे जति विकास परिवर्तन भएको छ, त्यसमा पुस्तकको ठुलो देन छ । पुस्तक विद्यार्थीदेखि अनुसन्धानकर्तालगायत सबै इच्छुक अध्येतालाई आवश्यक पर्ने महत्वपूर्ण ज्ञानको सागर हो । जुन नपढी आफ्नो उद्देश्य पूरा गर्न असम्भव हुने भएकाले पुस्तकालयको प्रयोग गरी पर्याप्त मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्न सक्छन् । आफ्नो कक्षा वा तहको निर्दिष्ट पाठ्यपस्तकबाहेक अन्य सहायक र सन्दर्भ सामग्रीको रूपमा अन्य प्रकारका पुस्तक अध्ययनमा रुचि नहुँदा शिक्षा प्रमाणपत्र धारण गर्नेमा सीमितले गुणस्तरीय शिक्षाका लागि पुस्तक अध्ययन गर्ने संस्कृतिमा कमी आएको छ । 

साधारणतया विभिन्न विधाका विद्वान्, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनालाई लिपिबद्ध गरिएको पृष्ठको सङ्गठित स्वरूप वा ठेलीलाई पुस्तक भनिन्छ । नेपाली बृहत् शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएर छापिएको ग्रन्थ भनिएको छ । मानिस एक गतिशील सामाजिक उत्तरदायित्व वहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सिप र कला कौशललाई संरक्षण संवर्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोतसाधनको उपयोग गरिन्छ । पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्य सामग्रीको गहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ ।

नेपालमा औपचारिक रूपमा १५ भदौ १८६९ मा पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरिन्छ । त्यो बेला राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तकालय अधिनियम’ मा लालमोहरसहित पारित गराई पण्डित केदारनाथ झालाई नै पुस्तकको रेखदेख र संरक्षणका लागि नेपालको पहिलो लाइबेरियनका रूपमा माने पनि पुस्तकालय व्यवस्थापनमा अध्ययन तालिम नलिएकाले भारतको दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्तानक गरेका पूर्णप्रसाद अमात्यलाई तत्कालीन शिक्षामन्त्री शारदाशमशेरले २००९ मा त्रिचन्द्र कलेजको लाइबेरियन पदमा नियुक्ति दिई नेपालमा लाइबेरियनसिपको थालनी गरियो । 

विसं १९०८ मा जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा ल्याएको हाते गिद्धे प्रेसले नेपालमा आधुनिक छापाखाना तथा पुस्तकको विकास भएको हो । विसं १९१९ भन्दा अघि ठहिटीमा स्थापना भएको मनोरञ्जन प्रेसले संस्कृत भाषाको ‘मोक्षसिद्धी’ छापेर व्यावसायिक पुस्तक प्रकाशनको थालनी भयो भने विसं १९२८ मा स्थापना गरेको नारायणहिटी छापाखानाको २२ वर्षपछि १९५० मा पासुपत प्रेसले निजी क्षेत्रमा पुस्तक प्रकाशनको सूत्रपात गरियो । शिक्षामा जहानियाँ राणा शासनको एकलौटी अधिकार हुँदा सर्वसाधारण जनतामा पहुँच नपु¥याउन अनेकौँ कुरामा वञ्चित अवस्था थियो । यस क्रममा विसं १९७६ मा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले शिक्षालगायत अन्य क्षेत्रमा लगाएको बन्देजको विरुद्ध ‘मकैको खेती’ नामक व्यङ्ग्य साहित्यिक पुस्तक एक हजार प्रतिमध्ये एक प्रति फेला नपर्दा जेल सजायका कारण त्यही नै जीवन त्याग गर्नु प¥यो । जसलाई नेपाली पुस्तक इतिहासमा ‘मकै पर्व’ भनेर चिनिन्छ ।

विसं १९८७ मा विश्वमा फैलिएको शिक्षाको प्रचारप्रसार, पुस्तक पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययन पछि फर्केका धर्मराज थपलिया र लक्ष्मीप्रसाद देवकोटालगायत ४५/४६ जना युवाले ‘सरस्वती गुठी’ नामक संस्थाबाट पुस्तकालय खोल्ने जमर्को श्री ३ भीमशमशेरको अगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारी पोल खोलिदिएपछि ‘गाथगादी ताकेको’ आरोपमा जनही रु. १०० जरिबाना लगाई दण्ड दिएको थियो, जसलाई नेपालको पुस्तकालय विकासको इतिहासमा ‘पुस्तकालय पर्व’ को नामले चिनिन्छ । पुस्तकालयका गतिविधि र त्यसको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो ।

पुस्तक नीति तथा पुस्तकालय सञ्चालनको कार्ययोजना स्पष्ट नभएकाले २०७२ को भूकम्पबाट हालसम्म पनि व्यवस्थित रूपमा सञ्चालन हुन नसकेका पुस्तकालय पुनर्जागृत गर्न नसक्दा समुदायको पुस्तकालयका पुस्तकमा ढुसी पर्ने, किराले खाने, मुसाले खाने तथा च्याटिने समस्याले अर्बौंको रकम बराबरको क्षति भएको छ । आधुनिक समयमा मानिस समाजसँग भिज्न छुट्टै औपचारिक तथा अनौपचारिक रूपमा उसले प्रविधि, सूचना तथा स्रोतसाधनको ज्ञान पाएको हुनुपर्ने अनिवार्य संस्कार बनेको छ । विद्यालय, कलेज, क्याम्पस र पुस्तकालय आदि शिक्षण संस्थामा मूलतः पुस्तककै प्रयोगलाई बढी बढावा दिइन्छ । विद्यालय कलेज जस्ता शिक्षण संस्थामा पुस्तकका निश्चित ज्ञान सिपबारे शिक्षकले विद्यार्थीलाई मार्ग निर्देश मात्रै गर्छ । पुस्तकालयमा विद्यार्थीले आफूलाई आवश्यक पर्ने ज्ञानको भोक मेटाउने विविध पक्षका ज्ञानको अध्ययन गरिन्छ । 

विद्यालय जस्ता शिक्षण संस्थाले सीमित ज्ञानका लागि पुस्तकको अध्ययन अध्यापन गरिन्छ, जसले विद्यार्थीमा सिकाइप्रति हिनताबोध उत्पन्न गराउँछ । त्यसैले हरेक शिक्षण संस्थाले विद्यार्थीमा हीनताबोध नहोस् भनेर छुट्टै शाखा वा भवनमा पुस्तकालयको प्रबन्ध गरेका छन् । जहाँ विद्यार्थीले विद्यालयमा सिकेका ज्ञान सिपलाई अझ परिष्कृत रूपमा बुझ्न सिक्न सहयोग पुग्छ । यसका लागि हरेक शिक्षण संस्थाले आफ्नो पुस्तकालयमा भएका पुस्तकको व्यवस्थित परिचालन र अन्य शैक्षिक गतिविधिको विकासका लागि तालिम प्राप्त र विविध पाठकबिच अन्तव्रिर्mयात्मक, शैक्षिक प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैक्षिक संस्थाबिच समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता भएका पुस्तकालयकर्मीको व्यवस्था गर्नु पर्छ । पुस्तकालयमा भएका पुस्तकको मात्रै आदानप्रदान गर्ने हो भने त्यहाँ पुस्तकालयकर्मी जनशक्तिको आवश्यकता रहँदैन ।  

पुस्तकालय दिवस मनाउँदै गर्दा पुस्तकमा आएको डिजिटल प्रविधिले मोबाइल तथा इन्टरनेटलाई नै एक्काइसौँ शताब्दीको पुस्तक र पुस्तकालयका रूपमा लिन थालिएको छ । जसले एक्लै बस्दा, साथीभाइ तथा सामाजिक जमघट हुँदा, यात्रा गर्दा वास्तविक पुस्तक भन्दा बढी मोबाइलजन्य प्रविधिको अधिकतम प्रयोगले पुस्तक अध्ययन संस्कृतिमा कमी आएको छ । यसले भविष्यमा आँखालगायत अन्य शारीरिक तथा मानसिक स्वास्थ्यमा विविध सङ्कट देखापर्ने कुरालाई ध्यान दिन सकेको छैन । ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने मूल नारालाई व्यवहारमा उतार्न र पुस्तक अध्ययन संस्कृतिको संस्कार बसाउनु आवश्यक छ ।