काठमाडौँ, साउन १२ गते । १०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि-४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ ।
जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुने छ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुने छ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुने छ । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नुहुने छ ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गर्नुहुने छ ।
कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । चीनको साङ्घाईमा अध्ययन गरिरहनु भएकी पलेशा त्यत्तैबाट मलेसिया जानुहुने छ ।
टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा हुनुहुन्छ । नेपालले सुरुको संस्करणदेखि नियमित रुपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ ।
नेपालले एक रजत र पाँच कांस्य गरी ६ पदक जितेको छ । प्रतियोगितामा ४५ राष्ट्रका एक सय ५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जानकारी दिनुभयो । टोलीलाई राखेपमा सामेबार आयोजित एक कार्यक्रमबिच बिदाइ गरियो ।