• १० साउन २०८२, शनिबार

विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेकी हुँ : पूर्व उपाध्यक्ष भण्डारी

blog

नेकपा (एमाले) का पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी पत्रकार सम्मेलनमा । तस्बिरः कबिन अधिकारी

काठमाडौं, साउन ९ गते । पूर्व राष्ट्रपति एवम् नेकपा (एमाले) का पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएको छ । शुक्रबार दिउँसो काठमाडौंमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बारेमा अध्ययन तथा चिन्तन गर्दैआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दैआएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दैआएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें तब, मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें ।”

उहाँले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकोले यो विवादमा पार्नुपर्ने विषय नभएको बताउनुभएको छ । यस विषयमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीबिच पार्टी केन्द्रीय कार्यालयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ  । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरुबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।”

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै उहाँले संविधानका धारा, मर्म र भावना अनुसार कहीँ कतैबाट आफू दलमा आबद्ध भएर राजनीतिमा सङ्लग्न हुन नसक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्य, मान्यतामा समेतलाई नजरअन्दाज गरेर राजनीतिमा सङ्लग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ ।”

पूर्व राष्ट्रपति भण्डारीले आफू एमालेको पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवम् नीतिहरुप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवम् आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरु राखिरहेको छु ।”

उहाँले आफू पार्टीको निर्णयअनुसार राष्ट्रपतिको जिम्मेवारीमा रहेको र सो जिम्मेवारी सफलतापूर्वक पूरा गरी एक नागरिकको रुपमा रहँदै आएको विषय पनि उल्लेख गर्नुभयो । सोही अवधिमा केही समयपछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदैआएको भनाइ राख्नुभयो । 

उहाँले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण सङ्गठनमा आबद्ध सबैको आस्था, विश्वास र निष्ठाले नै पार्टीले आजको सफलता हासिल गरेको बताउनुभयो । पार्टीलाई वैचारिक रुपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व रहेको उहाँको भनाइ छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।