• ५ साउन २०८२, सोमबार

हट्दै जातीय छुवाछूत

blog

छुवाछूत प्रथा हटेपछि दलित र गैरदलित सँगै पानी भर्दै । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, साउन ५ गते । पाँच वर्षअघिसम्म छायाँनाथ रारा नगरपालिका–६, कोटीला गाउँकी रामजीरा कुलाल र कमला मल्लले छत्यालवाडाको स्थानीय मूलपानीमा गाग्रीको पानी छोइन्छ कि भन्ने डरले एक–एक मिटरको दूरी कायम गरी कुवामा पानी भर्ने गर्थे ।

तर पछिल्लो समय समाजमा चेतना बढेपछि हिजोआज यहाँका दलित र गैरदलित समुदायले पानी भर्ने पँधेरोमा उक्त छुवाछूतको दूरी हटाएका छन् ।

छायाँनाथ रारा नगरपालिकाका समाजसेवी स्थानीय हर्क कुमालका अनुसार कुवामा पानी भर्दाको समयमा अहिले यहाँका दलित र गैरदलितका महिला तथा बालबालिकाहरुले पानी भरेको भाँडालाई एक आपस उठाएर सहयोग गर्ने गरेको उहाँको भनाइ छ । कुनै समयमा यहाँ पानी भर्दा हामी दलित समुदाय ले पानी भर्दा छुवाछूत हुन्छ भनेर पानी भर्नालाई घण्टौँ पर्खिनुपर्ने हुन्थ्यो तर अहिले समाज बुझ्ने भएपछि दलित तथा गैरदलितलाई सहज भएको रामजीरा कुलालले बताउनुभयो ।

धनकला मल्लले भन्नुभयो, ‘‘अहिले  पानी भर्न सँगसँगै जान्छन् र भरी गाग्रो डोकामा राख्न एक अर्काले सघाउँछन् । हिजोआज सबै जातजाति एउटै भएका छन् । छुवाछूत गर्न हुँदैन भन्ने समाजले बुझेको छ ।’’  दलितले पानी छोएकोमा कुनै पछुतो नहुने धनकला  बताउँनुहुन्छ ।

छुवाछूत गर्नुहुँदैन भन्ने बताउँदै धनकलाले भन्नुभयो, ‘‘समूहमा पनि जातभातको भेदभाव गर्नुहुँदैन भन्ने सिकियो ।’’ उहाँले चार वर्षअघि जिल्लाको एक गैरसरकारी निकायले गाउँमा छुवाछूतसम्बन्धी सडक नाटक प्रदर्शन र गाउँ गाउँमा छुवाछूतसम्बन्धी तालिम  भएदेखि महिलाहरूमा जागरण फैलिएको अनुभव सुनाउनुभयो ।

जिल्लामा विस्तारै सबैको सोच परिवर्तन हुँदै गएपछि अहिले गैरदलितले दलितको भान्सामा गएर खाना खाने गरेका छन् । जिल्ला नागरिक समाजका अगुवा रुपबहादुर मल्लका अनुसार कुनै इतिहासमा जातको नाममा दमन अनि शोषण हुने गरेको थियो । तर पछिल्लो समयका पुस्ता शिक्षित हुँदै गएकाले अहिले छुवाछूतको विषयमा अन्त्य हुँदै गएको उहाँले बताउनुभयो ।