• ६ साउन २०८२, मङ्गलबार

कैलाली कारागारमा कैदी मृत्यु प्रकरण आरोपित प्रहरीका सई कारागार चलान

blog

निराजन परियार

कैलाली, साउन ५ गते । कैलाली कारागारमा कैदको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताउनुभयो ।

बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका डडेलधुराको भागेश्वर गाउँपालिका५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको छ । राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

२९ जेठमा डडेलधुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । ३१ गते शनिवार परेका कारण उहाँलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।

पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ प्रतिवादी रहेका थिए । पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र श्रीमानको कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । त्याे अघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।