• ६ साउन २०८२, मङ्गलबार

लोकल प्रजातिका कुखुरा उत्पादन गर्दै फार्म

blog

जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्ममा रहेका लोकल कुखुरा । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन ५ गते । बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले विभिन्न प्रजातिका लोकल कुखुराहरु अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको छ । 

फार्मले वार्षिक लाखौँको संख्यामा विभिन्न प्रजातिका लोकल कुखुराका चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दैैआएको हो । ग्रामीण कुखुराका चल्ला उत्पादन तथा वितरण, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरुको अनुसन्धान तथा कृषकलाई विभिन्न तालिम तथा प्राविधिक सहयोग, सेवा परामर्शसमेत फार्मले प्रदान गर्दैआएको छ ।

फार्मभित्र जैविक सुरक्षा तथा अत्याधुनिक खोरसहितको कुखुरा फार्म, दाना मिल, ह्याचरी (चल्ला उत्पादन तथा वितरण), रोग निदान प्रयोगशाला सेवा, नवीनतम प्रजातिका पन्छीपालन, अध्ययन–परीक्षण, पानी शुद्धीकरण प्लान्ट सञ्चालन गरेको छ । 

फार्ममा पाँच हजार माउ अट्ने दुईवटा अत्याधुनिक खोर रहेका छन् । लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले गत आर्थिक वर्ष २०८१–८२ मा एक लाख ७८ हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन गरेको छ । 

फार्मका फार्म प्रबन्धक डा. सुमन खनालले गत आवमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ७८ हजार ६५९ चल्ला उत्पादन गरिएको जानकारी दिनुभयो । 

बजेटको व्यवस्थाअनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उहाँको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसान मार्फत वितरण गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार हरेक हप्ताको सोमबार कृषकलाई फार्मबाट एक दिने चल्ला वितरण गरिँदैआइएको छ । एक दिने चल्लालाई प्रतिचल्ला ४५ रुपियाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दैआएको उहाँले जानकारी दिनुभयो । 

ब्रुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने डा. खनालले बताउनुभयो । फार्मबाट ग्रामीण ब्लाक अष्ट्रालोप र न्यु हेम्पसायर प्रजातिका कुखुराका चल्ला र लोकल खजुरा साकिनी, घाँटी खुइले, शुद्ध कालो, प्वाँख उल्टे, साकिनीका साथै कालिजका चल्ला उत्पादन, संरक्षण तथा बजारीकरण हुँदैआएको डा. खनालले बताउनुभयो । 

फार्मबाट चल्ला मात्र नभएर अण्डासमेत उत्पादन बिक्री हुँदैआएको छ । गत आवमा फार्मबाट तीन लाख चार हजार १०२ अण्डा उत्पादन भएको थियो । जसमध्ये दुई लाख ३८ हजार ५७३ अण्डा (ओथारो अण्डा) चल्ला उत्पादनका लागि प्रयोग भएको, ५४ हजार ८८९ राम्रो र १० हजार ६४० वटा चर्केको अण्डा बिक्री वितरण गरिएको थियो । 

चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट गत आवमा एक करोड ४२ लाख १०३ रुपियाँ राजस्व सङ्कलन भएको फार्म प्रबन्धक डा. खनालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा फार्मबाट एक लाख ८१ ह्जार ९६६ चल्ला उत्पादन भएका थिए भने चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट एक करोड सात लाख दुई हजार १०९ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।