• ५ साउन २०८२, सोमबार

विवाह गर्न नमानेपछि प्रेमिकाको हत्या

blog

प्रेमिका हत्यामा संलग्न सन्तोष सुनार । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना

बनेपा, साउन ५ गते । विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका-१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।

प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका-१, डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका-९, नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रूपमा हत्या गरेको बताउनुभयो । 

"दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन्", प्रनाउ घलेले भन्नुभयो । असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका-१३, भगवान् थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोस पारी सलले घाँटीमा कसेर हत्या गरिएकाे प्रनाउ घलेले बताउनुभयो ।

शर्मिलाको हत्या गरेका सन्तोष घटनास्थलमा आधा घण्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए । फरार रहेका सन्तोषलाई इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका-१०, इँटाभट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रेमिका हत्याको आरोपमा पक्राउ परेका सन्तोषलाई सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रनाउ घलेले बताउनुभयो । मृतक शर्मिलाको पहिलो श्रीमानतर्फ १६ वर्षीया एक छोरी, दोश्रो श्रीमानतर्फ नौ वर्षीया अर्की छोरी छन् । मृतक शर्मिला पछिल्लो समय दुबै श्रीमान् छोडी एक्लै बस्दै आएकी थिइन् । सन्तोष र शर्मिला दुई वर्षदेखि प्रेम सम्बन्धमा रहनुको साथै सँगै ज्यामी काम गर्दै आएका थिए ।