जेनेवा, साउन ५ गते । संयुक्त राष्ट्रका स्वतन्त्र विशेषज्ञहरूले अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एक वृद्ध ब्रिटिश दम्पतीलाई लामो समयदेखि बिना आरोप थुनामा राखिएको भन्दै उनीहरूको स्वास्थ्य संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । आवश्यक चिकित्सकीय उपचार नपाएम उहाँहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
पीटर रेनॉल्ड्स ९८०० र उनकी पत्नी बार्बी ९७५० लाई फेब्रुअरीदेखि बिना कुनै औपचारिक आरोप अफगानिस्तानमा थुनामा राखिएको छ । उहाँहरू सन् १९७० मा काबुलमा विवाह गरेका हुन् र करिब दुई दशकदेखि त्यहीँ निरन्तर बसोबास गर्दै आउनुभएका छन् ।
विशेषज्ञहरूले उहाँहरू पाँच महिनाभन्दा बढी समयदेखि उच्च सुरक्षा जेलमा राखिएका बताएका छन् । केही समयदेखि भूमिगत कोठामा पनि छन्, जहाँ सूर्यको प्रकाश समेत पुग्दैन ।
उहाँको शारीरिक र मानसिक स्वास्थ्य द्रुत रूपमा बिग्रँदै गएको र आवश्यक उपचार नपाएमा अपूरणीय क्षति वा मृत्यु हुन सक्ने खतरा रहेको बताइएको छ । पीटरलाई दुई वर्षअघि सानो स्ट्रोक लागेको थियो र उहाँ मुटुको औषधिमा छन् । उहाँले दुई पटक आँखा संक्रमण भोगेका छन् ।
टाउको र बाँया हातमा झटका आउने समस्या छ भने हालै उहाँ बेहोस भएका थिए । उहाँकी पत्नी बार्बीलाई खुट्टामा सुन्निने समस्या देखिएको छ ।
संयुक्त राष्ट्रका मानवअधिकार सम्बन्धी विशेष प्रतिवेदनकर्ताहरूले उहाँहरूलाई तत्काल नागरिक अस्पतालमा सारेर आवश्यक उपचार प्रदान गर्न आग्रह गरेका छन् ।
रेनॉल्ड्स दम्पतीले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उहाँहरूलाई चीन–अमेरिकी साथी फे हॉल र अफगान अनुवादकसँगै बामियान प्रान्तमा घर फर्किँदै गर्दा थुनामा राखिएको थियो ।
विशेषज्ञहरूले भनेका छन्,“हामीलाई उहाँहरूलाई थुनामा राख्नुको कुनै औचित्य देखिँदैन र थुनाको आधारको तत्काल समीक्षा आवश्यक छ । यसरी जोखिमपूर्ण र असम्मानजनक अवस्थामा राख्नु अमानवीय र चिन्ताजनक छ ।” एएफपी