काठमाडौँ, असार १७ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो ।
मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय रहेको तथा मनसुन रेखा पश्चिम नेपालको उत्तरतर्फ रहेकोले सुदूरपश्चिम क्षेत्रको तराई र पहाडमा धेरै वर्षा भएको बताउनुभयो ।
झाले भन्नुभयो, “सुदूरपश्चिमतिर, तराई, पहाडमा धेरै भारी वर्षा भएको छ । हामीले विशेष बुलेटिन पनि जारी गरेका थियौं । यसको मुख्य कारण भनेको मनसुनको न्युन चापीयरेखा सरदरभन्दा उत्तरतर्फ बढेकोले गर्दा हो ।”
उहाँले सो क्षेत्रमा मङ्गलबारदेखि भारी वर्षा हुने क्रम कम हुँदै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो प्रक्रिया तलमाथि भइरहन्छ । अहिले हिजोको भन्दा कम छ । मङ्गलबारदेखि पानी नपर्ने त होइन । तर, सुदूरपश्चिमका जुन प्रणाली छन् । त्यसमा अलिकति कमी आउने हुन्छ । अलिअलि भारी वर्ष अझै पनि कतिपय ठाउँमा छ । अब क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ ।”
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता सुरेश सुनारका अनुसार मौसम पुर्वानुमान महाशाखाले गरेको पुर्वानुमानका आधारमा सम्बन्धित निकाय, सरकारका सबै पक्ष र सर्वसाधारणमा जानकारीका लागि विभिन्न माध्यमबाट पूर्व सुचना र पूर्व चेतावनीका सन्देश सम्प्रेषण भइरहेको छ ।
प्रवक्ता सुनारले भन्नुभयो, “विशेष गरेर हाम्रो च्यानलहरू प्रयोग गरेका छौं । सुरक्षा निकायसँग कमान्ड पोस्ट गठन भएको छ । त्यो कमान्ड पोस्टबाट सर्कुलर जारी भएको छ ।”
उहाँका अनुसार आवश्यक तयारीका लागि स्वयंसेवक परिचालन एवम् सतर्कता र तयारी अवस्थामा रहनका लागि पूर्व जानकारी गराइएको छ ।
उहाँले भन्नुभयो, “हामीले आवश्यक तयारी गर्न भनेर स्वयंसेवकलाई पनि परिचालन गर्ने सन्दर्भमा अलर्ट हुने र तयारी अवस्थामा बस्ने भनेर पहिले नै जानकारी गराएका थियौं । साथै, सर्वसाधारण नागरिकका लागि सार्वजनिक अपिल जारी गरेका छौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, यात्रा नगर्न, डुबान हुने क्षेत्र नदी, किनारमा जोखिमका काम कारबाही नगर्न आग्रह गरिएको छ ।”
विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न सबैसँग नजिकको सम्पर्क बढाइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विपद् प्रतिकार्यका लागि सबैलाई जुट्न हामीले त्यो खालको नजिकको सम्पर्क गरिराखेका छौं । जिल्ला, पालिकाले पनि आफ्नो हिसाबले सार्वजनिक अपिल गर्ने काम गरिरहेको छ । सुरक्षा निकाय, स्थानीय पालिकाले आफ्नो हिसाबले आवश्यक सतर्कता, सावधानी, अपनाउने काम गरिरहेको छ ।”
विपद्को बेलामा सबैभन्दा जिम्मेवार को हुन्छ भन्ने जिज्ञासामा उहाँले पूर्वतयारीमा सबै क्षेत्रको विभिन्न खालको भूमिका हुने भएकोले यो जिम्मेवारी क्षेत्रगत अनुसार हुने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “विपद्को बेला यही नै बढी जिम्मेवार भन्दा पनि त्यहाँ विभिन्न चरणहरू हुन्छ । पूर्वतयारीमा विभिन्न खालका भूमिका छन् । क्षेत्र अनुसार छन् । कृषि, सञ्चार मन्त्रालय, अरु योजना बनाउने स्रोत साधनको विषयमा पालिकाहरू, सुरक्षा क्षेत्र, स्थानीय प्रशासन सक्रिय रूपमा लाग्छन् । यसको बढी या यसको कम भन्दा पनि सबै मिलेर कार्ययोजना विभिन्न निकायसँग छलफल गरेर, ज–जसलाई जिम्मेवारी तोकिएको छ । त्यो निकाय तयारी अवस्थामा बस्ने र प्रतिकार्यको काम गर्नुहुन्छ ।”