• ३ कात्तिक २०८२, सोमबार

गुल्मीका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

blog

चन्द्रकोटको शान्तिपुरमा सञ्चालनमा आएको आधारभूत अस्पताल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक ३ गते ।
गुल्मीका दुई स्थानीय तहले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका हुन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३९६ स्थानीय तहमा २०७७ साल मङ्सिर १५ गते एकै साथ शिलान्यास गरेको थियो ।

गुल्मीदरवार गाउँपालिका-३, झाँक्री डाँडामा १५ शय्याको  अस्पताल निर्माण कार्य सम्पन्न गरी केही महिना पहिलेदेखि सञ्चालनमा ल्याएको छ ।  उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।

चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरमा पनि अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माका अनुसार लुम्बिनी प्रदेश सरकारबाट एक जना मेडिकल अधिकृत र पालिकाबाट एक जना मेडिकल अधिकृतका साथै अन्य स्वास्थ्यचौकीबाट आन्तरिक कर्मचारी व्यवस्थापन गरेर अस्पताल सञ्चालमा ल्याइएको हो ।

अस्पताल सञ्चालनका लागि पालिकाको स्रोत र साधनले सम्भव नहुने भएकाले प्रदेश र केन्द्रको नै मुख ताक्नु बाहेकको विकल्प नभएको शर्माले बताउनुभयो । आधारभूत अस्पतालमा तीन जना एमबिबीएस डाक्टरसहित ३२ जनाको दरबन्दी रहेकाले पालिकाले सबै व्यवस्थापन गरेर सञ्चालनमा  ल्याउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ । उक्त अस्पताल कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

गुल्मीका अन्य स्थानीय तहमा भने कतै बोलपत्रको कार्य भएको छ भने कतै निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र अवस्थामा रहेका छन् । अस्पतालको शिलान्यास गर्नका लागि तत्कालिन केन्द्रीय मन्त्रीदेखि प्रदेश सांसदहरूको होडबाजी चलेको थियो । एकैदिन एक नेताले तीन अस्पतालसम्मको शिलान्यास गरेका थिए ।