काठमाडौँ, कात्तिक ३ गते । प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने भएको छ ।
इजरायलमा निधन हुनुभएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः३० बजे काठमाडौँ आइपुग्दै छ । उहाँको शव फ्लाइ दुबईमार्फत विमानस्थलमा आइपुग्ने छ ।
प्रधानमन्त्री कार्की विमानस्थलमा श्रद्धाञ्जली अर्पण गर्न जानुहुने कार्यक्रम रहेको छ ।
यसअघि आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको हो ।
सो क्रममा इजरायलमा रहेका नेपाली समुदाय, विपिनलाई आश्रय दिएको किबुज समुदायले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
विमानस्थलमा श्रद्धाञ्जलीपछि अन्त्येष्टिका लागि उहाँको परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
इजरायल हमासबिच चलेको दुई वर्ष लामो युद्धविरामपछि हमासद्वारा बन्धक बनाइएका जीवितलाई छोडिएसँगै बन्धक अवस्थामै मारिएकामध्ये केहीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो । सोही क्रममा पहिलो चरणमा हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशीको पनि इजरायली सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सन् २०२३ अक्टोबर ७ को बिहानीमा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा हमासद्वारा बन्धक बनाएर लगिएका विपिन उतै मारिएको समाचार दुई वर्षपछि सार्वजनिक भएको थियो । यसबिचमा विपिनका परिवार र नेपाल सरकारले उहाँका सकुशल रिहाइका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्च पुगेर निकै पहल गरेका थिए ।
२३ वर्षीय जोशी इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) अन्तर्गत सिक र कमाऊ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययन गर्न र कमाउन त्यहाँ आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र इजरायल पुग्नुभएको थियो । उहाँ इजरायलको किबुज एलुमिममा रहेर कामसँगै अध्ययन गरिरहनुभएको थियो । ७ अक्टोबर २००३ मा हमासले सोही किबुज पसेर अचानक आक्रमण गर्दा उहाँसँगै रहेका अन्य १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । घाइते भएका छ जनाको उपचारपछि नेपाल फर्काइएको थियो । उहाँलाई भने हमासले बन्धक बनाएर आफूसँगै गाजापट्टी लगेका थिए ।