काठमाडौँ, कात्तिक २ गते। नर्सका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको बैठकले आन्दोलनरत नर्सलाई सम्मानजनक काममा फर्काउन समिति गठन गर्ने सहमति गरेको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आइतबार बसेको बैठकले आन्दोलनरत नर्सलाई सम्मानजनक काममा फर्काउन समिति गठन गर्ने सहमति गरेको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘‘आज बसेको बैठकले आन्दोलनरत नर्सलाई सम्मानजनक काममा फर्काउन नर्सिङ एशोसिएसनको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्सको प्रतिनिधित्व हुने गरेर तीन सदस्यीय कमिटी गठन गर्न सहमति भएको छ।
निजी मेकिडल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालकका प्रतिनिधिहरु बैठकमा अपमानजनक व्यवहार भएको भन्दै बाहिरिएका थिए ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा निजी मेकिडल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालकका प्रतिनिधिरूर्लाइ समेटेर गठन गरेको १४ सदस्यीय समितिले तिहारपछि एक हप्ताभित्र प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाउने सहमति भएको छ।
प्रवक्ता बुढाथोकी भन्नुहुन्छ, ‘‘१४ सदस्यीय समितिले तिहारको समयमा पनि भर्चुअल बैठक गरेर असन्तुष्ट पक्षका माग समेटेर तिहार पछि एक हप्ताभित्र प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाउने सहमति भएको छ।’’
समितिले बुझाएको प्रतिवेदन मन्त्रालयले क्याबिनेटमा लगेर पारित गर्ने छ ।