• ३ कात्तिक २०८२, सोमबार

नख्खु कारागारबाट फरार कैदी खाँदबारीमा पक्राउ

blog

सुजन बज्राचार्य

सङ्खुवासभा, कात्तिक ३ गते । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई सङ्खुवासभामा प्रहरीले पक्राउ गरेको छ ।  

उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि विश्वकर्मा लामो समयदेखि लुकीछिपी बस्दैआएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो । फरार कैदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डिएसपी मैनालीले बताउनुभयो । 

उहाँका अनुसार कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनसँग समन्वय गरेर विश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने तयारी भइरहेको छ । अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए ।