ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १७ गते । म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोटका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । वर्षौदेखि सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका निस्कोटवासीहरू घरघरमा धारा जडान गरी खानेपानी पानी आउन थालेपछि खुसी भएका छन् ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निस्कोट खानेपानी योजना सम्पन्न भएको हो । नेवाको ६४ लाख र स्थानीयको ३० लाख बराबरको श्रमदान गरी ९४ लाख रुपियाँमा निस्कोट खानेपानी योजना सम्पन्न भएको नेवाका प्राविधिक छविराम शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार योजनाबाट एक सय २५ घरधुरीमा निजी र ७ वटा सार्वजनिक धारा निर्माण गरिएको छ । गत साउनदेखि सुरु भएको योजना यही असारको पहिलो हप्ता सम्पन्न भएसँगै घरघरमा पानी जडान गरिएको उहाँले बताउनुभयो ।
बस्तीदेखि चार किलोमिटर टाढा रहेको टोटो बजाउने स्थानमा रहेको पानीको मुहानबाट पानी ल्याएर १३ वटा पानी सङ्कलन ट्याङ्की, दुई वटा डिपिटी र मुख्य पाइपलाइन, वितरण लाइनसहित १६ हजार मिटर पाइपलाइन विस्तार गरेर निस्कोट गाउँका प्रत्येक घरधुरीमा पानी विस्तार गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो ।
‘‘३७ वर्ष अघि गाउँमा बनेको खानेपानी योजनाका सार्वजनिक धाराहरू मार्फत गाउँले पानी उपभोग गर्दै आएका थियौं । योजना जिर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियौं । गाउँको पुछारमा रहेको धारा र कुवाबाट पानी ल्याएर पिउने गरेकोमा अहिले घरघरमा खानेपानीका धारा बनेपछि पानीको समस्या हटेकाले गाउँलेहरू निकै खुसी भएका छन्,’’ उहाँले भन्नुभयो । गाउँमा खानेपानीको योजना आएपछि गाउँलेहरूले पनि खुसी हुँदै दुईदेखि तीन महिना सम्म श्रमदान गरेको उहाँले बताउनुभयो ।
खानेपानीका लागि गाँउभरिमा दुई, चार वटा सार्वजनिक धाराहरू मात्र थिए स्थानीय उपभोक्ता तमबहादुर पुनले भन्नुभयो, ‘‘पुरानो योजना जिर्ण भएकाले गाउँमा पानीको निकै समस्या थियो । एक गाग्री पानी लिन घण्टौं लाइनमा बस्नुपर्दथ्यो । अहिले यो योजना सम्पन्न भएपछि घरघरमा चौबिसै घण्टा पानी आएको छ ।’’ घघरमा जडान भएका धाराबाट पानी आउन थालेपछि सफा र स्वच्छ पिउने पानीको उपभोग गर्नपाउनुका साथै समयको पनि बचत भएको उहाँले बताउनुभयो ।
निस्कोटमा खानेपानीको अभावलाई समाधान गर्न वडा र पालिकाको अनुरोधमा नेवाले खानेपानी योजना सञ्चालन गरेपछि स्थानीयहरु सफा र स्वच्छ पानी उपभोग गर्न पाएको मालिका गाउँपालिका वडा नम्बर १, का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।
गत आर्थिक वर्षमा पनि नेवाबाट वडाका विभिन्न बस्तीहरूमा सञ्चालन गरिएको योजनाबाट ९६ घरधुरीमा खानेपानीको सुविधा विस्तार भएको वडाध्यक्ष पुनले बताउनुभयो । अझै वडाका केही बस्तीहरूमा पानीको समस्या भएकाले आगामी वर्ष पनि योजना सञ्चालन गर्न वडा र पालिकाले नेवालाई अनुरोध गरेको उहाँको भनाइ छ ।