गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २२ गते । एमाले महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा नकारात्मक टीकाटिप्पणीलाई कडाइसाथ रोक्नुपर्ने पार्टी निष्कर्ष रहेको उल्लेख गर्नुभएको छ ।
पार्टीको विधान महाधिवेशनको सन्दर्भमा पार्टीका विभिन्न निकायमा आबद्ध प्रचार विभागका जिम्मेवार पदाधिकारीसँग बुधबार भएको अन्तर्क्रियामा पोखरेलले पूर्वराष्ट्रपति भण्डारीले गर्नुभएको गौरवपूर्ण कामलाई केन्द्रीय कमिटी बैठकले उच्च सम्मान गरेको उल्लेख गर्नुभयो । उहाँले पूर्वराष्ट्रपतिले खेलेको गौरवपूर्ण भूमिकाको तथ्य राखेर महासचिव पोखरेलले नकारात्मक टीकाटिप्पणीलाई रोक्नुपर्ने पार्टीले निष्कर्ष निकालेको बताउनुभयो ।
“पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टीकाटिप्पणी आइराखेका छन्, त्यसलाई कडाइसाथ रोक्नु पर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न । यही कुरालाई ध्यानमा राखेरै पार्टीले राजनीतिक निर्णय लिएको हो,” महासचिव पोखरेलले उल्लेख गर्नुभयो ।
नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति, राष्ट्रपतिका रूपमा निर्वाह गरेको अभिभावकीय भूमिकाका रूपमा भण्डारी इतिहासमा सम्मान गर्ने नेतृत्वका रूपमा स्थापित भइसकेको पार्टीको ठहर रहेको उहाँले जानकारी दिनुभयो । महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीप्रति भइरहेको नकारात्मक टीकाटिप्पणी गणतन्त्रविरोधीको खेती भएको निष्कर्ष सुनाउनुभयो । उहाँले नेकपा (एमाले) को नेतृत्वको विषयमा पनि विरोधीले गरेको दुष्प्रचार र अफवाहको आयु सकिएको घोषणासमेत गर्नुभयो ।
महाधिवेशनको एजेन्डा तय
महासचिव पोखरेलले आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुन गइरहेको पार्टीको विधान महाधिवेशनका लागि चार एजेन्डा तय भएको पनि बताउनुभएको छ । दोस्रो विधान महाधिवेशनका लागि नीति निर्माण र विधि स्थापित गर्ने गरी चार एजेन्डा तय भएको उहाँले जानकारी दिनुभयो । महासचिव पोखरेलका अनुसार विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रूपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने छन् । यस्तै महाधिवेशनले समसामयिक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको उहाँले उल्लेख गर्नुभयो ।
महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रूप दिएर सुझावका लागि देशभर पठाएको छ । प्राप्त सुझावका आधारमा संयोजक उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको समितिले मसौदालाई अन्तिम रूप दिने छ ।