• २२ साउन २०८२, बिहिबार

नगरप्रमुख थापा भ्रष्टाचारी ठहर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई विचाराधीन चार मुद्दामध्ये दुईमा दोषी ठहर गरेको छ । अदालतले गैरकानुनी सम्पत्ति आर्जन र हानिनोक्सानी मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा थापालाई अदालतले एक वर्ष कैद ठहर गर्दै हानिनोक्सानी मुद्दामा सजाय निर्धारणका लागि पेसी तोकिएको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गैरकानुनी सम्पत्ति मुद्दामा थापालाई बिगो अनुसार तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ जरिबाना फैसला गरेको छ ।  बिगोले बढाएको सम्पत्ति जफतको फैसला पनि विशेषले गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच अवधिमा थापासँग तीन करोड ४५ लाख २२ हजार ३८७ रुपियाँ गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको थियो । अख्तियारको दाबी अनुसारै अदालतले ठहर गरेको हो । जाँच अवधिमा कुल आय नौ करोड १४ लाख ३१ हजार तीन रुपियाँ र कुल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपियाँ भएको अख्तियारको विश्लेषण थियो । 

यस्तै अख्तियारले थापासहित तीन जनालाई नगरपालिकाको कर हिनामिना मुद्दामा पनि दोषी ठहर गरेको छ । अदालतले थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो । भ्याटसमेत ३० करोड २९ लाख ३४ हजार ८९७ रुपियाँ रकम हिनामिना भएको अदालतको ठहर छ । 

नदीजन्य पदार्थको करमा राज्यलाई हानि पु¥याएको दाबी अख्तियारको थियो । अदालतले कसुर ठहर भएका तिनै जनाको हकमा सजाय निर्धारणका लागि साउन २९ गतेको पेसी तोकेको छ । अदालतले लीलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोपमा सफाइ दिएको छ ।