• २ असार २०८२, सोमबार

विपतजन्य घटनाबाट बच्न पूर्वतयारी सुरु

blog

विपतजन्य घटना न्यूनीकरण गर्न पूर्वतयारीदेखि तालिमका कार्यक्रम

बुटवल समाचारदाता

बुटवल, असार २ गते । यो वर्ष विगतको भन्दा धेरै पानी पर्ने भएकाले पूर्वसावधानीका उपाय अवलम्बन गर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेपछि रुपन्देहीमा विपतजन्य घटना न्यूनीकरण तथा पूर्वतयारी सुरु गरिएको छ ।  रुपन्देहीका १६ वटा पालिकामध्ये अधिकांश पालिकाले विपत्जन्य घटना न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीको काम थालेका हुन् । अहिले बुटवल उपमहानगर, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिकालगायत गैहहवा, शुद्धोधन, सियारीलगायतका पालिकाले विपत्जन्य घटना न्यूनीकरण गर्न पूर्वतयारीदेखि तालिमका कार्यक्रम सञ्चालन गरेका छन् । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा विपत्जन्य जोखिमका घटना न्यूनीकरण गर्न अहिलेदेखि नै ध्यान दिएको बताउँदै खास गरी उद्धारलगायतका कामका लागि आवश्यक सामग्रीको तयारी गरिएको बताउनुभयो । यसै गरी कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकालले पालिकामा हुने विपत्जन्य घटना न्यूनीकरण गर्न पालिकाले विभिन्न कार्य गरिरहेको बताउनुभयो । 

उहाँले जोखिम क्षेत्रका स्थानीयलाई विपत् भइहालेको अवस्थामा उद्धार तथा राहत प्रदान गर्न तालिम प्रदान गरिएको बताउनुभयो । यसै गरी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा बाढीपहिरोलगायतका विपत्का घटना न्यूनीकरण गर्न पूर्वतयारी गरिएको जानकारी दिनुभयो । विपत्का बेला कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा तालिममा स्वयंसेवकलाई अभ्याससमेत गराइएको छ ।