• २ असार २०८२, सोमबार

अधिकृत खटिएपछि सेवा प्रवाह सहज

blog

वासुलिङ समाचारदाता

बैतडी, असार २ गते ।  बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा पहिलो पटक अधिकृत खटाइएको छ । इलाका प्रशासन कार्यालय स्थापना भएको झन्डै १० वर्षपछि पहिलो पटक अधिकृतका रूपमा शङ्करबहादुर बोहोरा हाजिर भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । पुर्चाैडीमा २०७३ मा स्थापना भएको सो इलाका प्रशासनमा अधिकृतको दरबन्दी रहे पनि यसअघि नायब सुब्बाले नै काम चलाउँदै आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । सदरमुकामबाट टाढा रहेको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिका–४ का बासिन्दालाई नागरिकता प्रमाणपत्र जारी गर्न र प्रतिलिपि दिन इलाका प्रशासन कार्यालय स्थापना भएको उहाँले बताउनुभयो । 

४० हजार जनसङ्ख्यालाई लक्षित गर्दै पुर्चौडीमा इलाका प्रशासन स्थापना भएको थियो तर अधिकृत नहुँदा त्यहाँबाट दिइने सेवा प्रभावित हुँदै आएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो । अधिकृतविहीन हुँदा यहाँबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने तथा प्रतिलिपि दिने काम पछिल्लो केही वर्षदेखि रोकिएको जोशीले बताउनुभयो । पुर्चौडीबाट नागरिकता प्रमाणपत्र बनाउनकै लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता रहेकोमा अबदेखि गाउँमै नेपाली नागरिकता जस्ता कागजपत्र बन्ने भएपछि यहाँका नागरिकको पैसा र समय दुवै बच्ने भएपछि स्थानीय खुसी भएको पुर्चौडी नगरपालिका–२ का चक्रबहादुर बमले बताउनुभयो । 

गएको सात महिनायता इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिकतासम्बन्धी सबै काम भएर जारी गर्ने अधिकारीको हस्ताक्षरका लागि जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यता रहेको बमले बताउनुभयो तर पछिल्लो समय यहाँ अधिकृत आएपछि नागरिकता वितरणको काम धमाधम भइरहेको उहाँले बताउनुभयो । पहिलो पटक अधिकृत खटिएपछि इलाका प्रशासनबाटै छिटोछरितो रूपमा नागरिकता जारी गर्न सहज भइरहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुर्चौडीबाटै नागरिकता जारी हुन थालेपछि सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाको झन्झट अन्त्य भएको छ ।”