• २ असार २०८२, सोमबार

माटोका छाना विस्थापित भएको याल्वाङ गाउँ

blog

माटोका छाना विस्थापित भएको नाम्खा गाउँपालिकाको याल्वाङ गाउँ । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २ गते ।
नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् ।

तीन वर्ष अगाडिसम्म गाउँमा आधा घरधुरी माटोका छाना भएका भए पनि यस वर्ष बाँकी घर पनि जस्तापाताले छाप्ने कार्य भएको स्थानीय छिरिङ्वा लामाले बताउनुभयो ।

बर्खामा पानी च्हिने समस्या र हिउँदमा छतमा जमेको हिउ फाल्ने कार्यबाट मुक्ति मिलेको भए पनि उहाँले यसबाट परम्परागत घरहरु भने हराएको बताउनुभयो ।

अर्का स्थानीय फुन्जोक लामाले आर्थिक स्रोत न्यून भएका व्यक्तिहरुले पनि ऋण लिएर जस्तापाताले घर छाप्नु परिरहेको बताउनुभयो ।

अहिले जस्तापाताले घर छाप्ने कार्यले गर्दा सिङ्गो गाउँ माटोका छानाविहीन भएको उहाँको भनाइ छ । 

वडा अध्यक्ष लातार लामाले गाउँवासीले माटोका छाना विस्थापित गरेर जस्तापाता छाउनु सकरात्मक कार्य भएको बताउनुभयो । यो काम राम्रो भए पनि परम्परागत घरहरु भने हराएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सो गाउँँमा ६७ वटा घरधुरी रहेका छन् । जो गाउँपालिका केन्द्र पनि हो ।

याल्वाङ गाउँवासीले घरमा छापेका जस्तापाता भने सबै चीनको ताक्लाकोटबाट ल्याइएका हुन् । चीनको ताक्लाकोट बजार नजिक र सडक सञ्जाल जोडिएका कारण नाम्खा गाउँपलिका धेरै घरधुरी जस्तापाताले छाउने कार्य भएको छ ।