• २ असार २०८२, सोमबार

बालबालिकाद्वारा गुनासैगुनासो

blog

बालकचहरीमा आफ्ना कुरा राख्दै विद्यार्थी । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार २ गते । सिमकोट गाउँपालिकाको सहकार्य र गुडनेवर्स इन्टनेसनल नेपालको सहयोगम रेडियो कर्णाली आवाजले आयोजना गरेको बालकचहरीमा बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई गुनासो नै गुनासो राखेका छन् । आइतबार भएको बालकचहरीमा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले सेवाप्रदायक निकायका प्रमुखलाई बालबालिकाका मुद्दा सुनुवाइ गर्न सुझाव दिएका छन् । 

सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कट्रिना भण्डारीले लोडसेडिङका कारण पठनपाठनमा दैनिक समस्या भोग्नु परेका कारण त्यसको समाधानको उपायबारे जिज्ञासा राख्नुभयो । मानसरोवर माविमा कक्षा १० मा अध्ययनरत छात्रा दिचेन ओङ्मु लामा केटाबाट केटीले दुव्र्यवहार भोग्नु परेका कारण त्यसको समाधानको उपाय निकाल्न आग्रह गर्नुभयो । अर्का छात्रा छेवाङ तामाङले विद्यालयमा सेनिटरी प्याड सकिएका कारण महिनावारी भएका बेला छात्राले समस्या भोग्नु परेको र विद्यालयसमेत छुटाउनु परेको गुनासो गर्नुभयो ।  

अर्की छात्रा श्रद्धा सुनारले गाउँघरमा यौन दुव्र्यवहार भोग्नु परिरहेको बताउँदै यसबाट बच्ने उपायबारे जान्न चाहेको बताउनुभयो । छात्र हरि बुढाले बालबालिकाले धेरै प्रकारका विभेद सहनु परिरहेको र त्यस्ता विभेद भएपछि गाउँघरमा मिलाउने कुराले यो समस्या बढ्दै गएको जनाउनुभयो । विद्यार्थीले पनि बालश्रम, विभेद, बालविाह, छाउपडी प्रथालगायतका समस्या भोग्नु परिरहेको गुनासो सेवाप्रदायक निकायका प्रमुखसँग राखेका छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डरीले सुधारको प्रयास भइरहेको जिकिर गर्नुभयो । विद्यालयमा महिनावारी प्याडको व्यवस्था तत्काल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । 

त्यस्तै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले सीमित साधन र स्रोतका कारण धेरै कुरा गर्न नसकिएको बतााउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले कतिपय बालबालिकाले भोगेका समस्या जानकारी नै नहुने भएका कारण त्यसलाई समाधान गर्न नसकिएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले सूचना दिन बालबालिकालाई आग्रह गर्दै गाउँमै मिलापत्र गर्दा समस्या बढी रहेको बताउनुभयो ।