टोपलाल अर्याल
रेसुङ्गा, असार २ गते । कैद तथा जरिवाना निकै कम हुँदा पनि फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गर्न थालेको छ । बहुबिबाह मुद्दाका किशोर भुसाललाई नौ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर कारागार चलान गरेको छ ।
सियारी गाउँपालिका–७ रूपन्देहीका भुसाललाई सर्वोच्च अदालतबाट २०७३ चैत १६ गते एक वर्ष सजाय र सात हजार रुपियाँ जरिवाना फैसला भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । फरार रहेका भुसाललाई नौ वर्षपछि चैत १९ गते पक्राउ गरिएको सारुले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीले मासिक कार्यसम्पादन गरेका गतिविधिहरु सार्वजनिक गर्ने गरेको छ ।
मृत्यु हुँदासम्म फरार
रेसुङ्गा नगरपालिका–११ की धनकला थापालाई जिल्ला अदालत गुल्मीबाट २०५१ साल असार १५ गते अंश मुद्दामा एक हजार २८७ रुपियाँ जरिजाना फैसला भएको थियो । उहाँ ३१ वर्षसम्म फरार प्रतिवादीको सूचिमा हुनुहुन्थ्यो । तर थापाको मृत्यु भइसकेको रहेछ । २०८२ जेठ २१ गते मृत्यु दर्ता पेश गरेर लगत कट्टा गरिएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जेठ महिनामा दुई जना प्रतिवादी पक्राउ पर्दा पनि प्रहरीको लागि ठुलो उपलब्धी हुने बताउनुभयो । उहाँले लगत जिल्ला अदातलतमा कायम भए पनि मान्छे जिल्ला बाहिर भएको र पक्राउ गर्न विभिन्न आफ्नै प्रक्रिया हुने भएकाले निकै मुस्किल परिरहेको बताउनुभयो ।
त्यस्तै, उहाँले जिल्लामा आफु भर्खरै आएकाले पहिलो काम रिपिटर टावर थपेर सबै पूर्तिघाट बाहेक मातहतका सवै प्रहरीचौकीलाई संचारसँग जोडेको बताउनुभयो । अहिलेसम्म अति आवश्यक सूचना आदान–प्रदानका लागि फोन वा ह्वाट्स एप प्रयोग भइरहेको र नेटवर्कको समस्याले सास्ती हुने गरेको थियो । अहिले पूर्तिघाटबाटका युनिटमा सिधा सम्पर्क हुने भएकाले विपद्को सूचना आदान–प्रदानमा सहज हुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।