राधाकृष्ण डुम्रे
वालिङ, असार २ गते । स्याङ्जाको फेदीखोला गाउँपालिकाका ४६ वटा सामुदायिक वनलाई समेटेर ‘वन उद्गम सहकारी’ बनाइएको छ ।
स्थानीय वनमा आधारित उद्यममार्फत गाउँपालिकालाई आर्थिक रुपमा समृद्धि बनाउन सहकारीको स्थापना गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीजनाएको छ । दिगो विकास, वातावरणको संरक्षण र प्रवर्धन गर्दै थप रोजगारी सिर्जना गर्ने योजना रहेको उहाँको भनाइ छ ।
सहकारीमार्फत वन पैदावारको प्रशोधन तथा बजारीकरणले वन उद्यमशीलताको प्रवर्धन हुने अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सामुदायिक वन उपभोक्ता समूह तथा साना किसानहरुलाई सङ्गठित गराई सहकारीको माध्यमबाट जीवनस्तर उकास्ने पालिकाको योजना हो ।” आर्थिक, सामाजिक एवम् सामुदायिक विकासमा जोड दिन अभियान सुरु गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
फेदीखोला गाउँपालिकाले वन उद्यमशीलता सम्बन्धमा पेश गरेको प्रस्तावित योजना कार्यान्वय गर्नका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा बजेट छुट्याएको पालिकाले जनाएको छ । आगामी बजेटमा एक करोड ५० लाख रकम विनियोजन गरिएको छ ।
फेदीखोलामा सूचीकृत भएका ४६ वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागीतमा भएको भेलाले कृषि वन उद्यम सहकारी संस्थाको स्थापना गरेको हो । उनीहरुको प्रारम्भिक साधारणसभा तथा प्रारम्भिक अधिवेशन अधिवेशनले ताराबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन गरिएको छ भने हर्कबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ ।
वन महासंघ केन्द्रीय सचिवालय सदस्य दोबबहादुर कार्कीले सामुदायिक वनलाई समेटेर कृषि र उद्यमलाई जोड्ने अभियान आफैँमा महत्त्वपूर्ण रहेको बताउनुभयो । वनलाई उपभोक्तालाई समेटेर बनाइएको प्रकृतिको सहकारी नेपालमै पहिलो रहेको उहाँले दाबी गुर्नभयो ।