गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २ गते । शर्मिला बर्देवा र प्रमोद शर्माको आवाजमा ‘खै त मायाले कुरा बुझेको’ बोलको गीत सार्वजनिक भएको छ ।
लन्डन बस्ने दुवै सङ्गीतकर्मीले युरोपका विभिन्न सहरमा आफ्नो प्रस्तुति दिएर नेपाली मात्र होइन विदेशीलाई पनि मन्त्रमुग्ध बनाउनुभएको छ । वरिष्ठ सङ्गीतकार स्व. हुतराज शर्माका छोरा प्रमोद भन्नुहुन्छ, “विदेशीले हाम्रो गायन एक पटक सुनेपछि हामीलाई पुनः विदेशमा बोलाउनुहुन्छ ।” तीन दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय शर्मिला बर्देवाका परिवारका धेरै सदस्य यही क्षेत्रमा आबद्ध हुनुहुन्छ ।
गीतमा दिनेशराज पुरीको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ मास्टरिङ र किरणसिं थापाको रेकर्डिङ रहेको छ । यसै गरी गीतमा रत्न विकको बाँसुरी, पुष्कर खड्काको गितार र बलबहादुर जैरुको सहनाई रहेको छ ।
म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, बिना रावत, कविता तोलङ्गीको अभिनय रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको भिडियोमा उहाँले नृत्य निर्देशन पनि गर्नुभएको छ । गीत म्युजिक नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।