रामकृष्ण बोहरा
बागलुङ, असार १ गते । बसाइसराई र घट्दो जन्मदरका कारण गाउँ रित्तिएका छन् । बढ्दो जनसङ्ख्या हुने बेला खुलेका सामुदायीक विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या अधिक छ । विद्यालय समायोजन नगर्दा राज्यकोषले धान्नै नसक्ने विकराल अवस्था छ । विद्यालय समायोजन हुँदा पढ्दै आएका बालबालिका मर्कामा पर्छन् ।
पढाईलाई जीवन उपयोगी बनाउने, राज्यको खर्चलाई उपयोग गर्ने र विद्यार्थी अभिभावक सबैलाई शिक्षासँग जोड्न दक्षिण बागलुङको जैमिनी नगरपालिकाले अगुवा विद्यालय बनाएर नमुना बनाउँदै छ । जैमिनी नगरपालिका ५ बिनामारेस्थित सर्वाेदय जनक माध्यमिक विद्यालयलाई अगुवा विद्यालय बनाउन छनोट गरेको नगरपालिकाले त्यहाँ भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरका लागि सुधारका काम थालेको हो ।
शिक्षामा लगानी बढाएर शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकिकृत विद्यालय निर्माण गरी टाढाका विद्यार्थीलाई विद्यालयमै राखेर अध्ययन गर्ने योजना जैमिनीले कार्यान्वयन गरेको छ । बढ्दो बसाइसराईले विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्ने र लगानी सदुपयोग नहुने भएकाले दुई वर्षदेखि नगरपालिकाले अगुवा विद्यालय, विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्न पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारिएको हो ।
पातलो बस्ती, तिब्र बसाइसराईका कारण आधारभूत तहका विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय गाभ्ने र गुणस्तर बढाउन अगुवा विद्यालयको अवधारण कार्यान्वयनमा लगिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अगुवा विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने, अति विपन्न परिवारलाई पढ्दै कमाउँदै अभियानसँग जोड्ने र पालिकाकै नमूना विद्यालय निर्माणमा लगानी गरिरहेको छ ।
‘‘विद्यालय गाभ्दा अपायक परेका विद्यार्थीलाई आवासिय वा यातयातको व्यवस्था पालिकाले मिलाउने गुरुयोजना समेत बनेको छ’’ शर्माले भन्नुभयो । अगुवा विद्यालय घोषणा गरिएको सर्वोदयमा नगरपालिकाले २८ लाख लगानी गरिसकेको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत चार रोपनी जमिन भाडामा लिएर प्लास्टिक टनेलमा तरकारी खेती समेत गरिएको छ । अगुवा विद्यालयले अभिभावकमा विद्यालयप्रति भरोसा जागेको छ ।
गत वर्षदेखि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा दिँदै आएको र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उत्पादित कृषि उपज दिवाखाजा र छात्रावासमा प्रयोगसंगै बिक्री गरिएको सर्वाेदय माविका प्रधानाध्यापक भवानी आचार्यले जानकारी दिनुभयो । विद्यालयलाई तीन आर्थिक वर्षमा गरी जैमिनीले २८ लाख उपलब्ध गराईसकेको छ । उक्त बजेटबाट विद्यालयमा रहेको भवनमा छात्रावास व्यवस्थापनदेखि विद्यालय क्षेत्रमा तारबार लगाउने, खेलमैदान निर्माण गर्ने र बालबालिका लागि बगैँचा बनाउने काम चलिरहेको छ ।
यस्तै, पढ्दै कमाउँदै कार्यक्रमलाई प्राप्त साढे ३ लाख बजेटबाट पहिलो वर्ष ६ वटा प्लाष्टिक टनेल निर्माण गर्नुका साथै कृषि औजार खरिद गरिएको थियो । ‘‘यो वर्ष प्राप्त १ लाख ५० हजार रुपियाँ बजेटबाट बिरुवा उत्पादनका लागि हाइटेक टनेल निर्माणको काम चल्दै छ’’ आचार्यले भन्नुभयो, ‘‘बिरुवा उत्पादनमा विद्यार्थी–अभिभावकलाई जोड्ने योजना छ ।’’
विद्यार्थीलाई खेती किसानी सिकाउँदै आएको विद्यालयले गत वर्ष भाडामा लिएको खेतमा धान खेती गरेर १० क्विन्टल उत्पादन गरेको छ । थप ३० मुरी धान फल्ने खेत यसवर्ष भाडा लिइएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत यो सिजनमा ४ क्विन्टल उत्पादन गरेको विद्यालयले ग्लोबल आइएमई बैँकले करिब २ सय कागतीका बिरुवा उपलब्ध गराएपछि आफ्नै जग्गा रोपेको छ ।
आगामी २०८२ चैतभित्र जैमिनीले बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । अघिल्लो वर्षदेखि नै बालमैत्री स्थानीय शासनयुक्त नगरको अभियान थालेकोमा सबै सूचक पूरा गरेर चैत मसान्तमा घोषणाको तयारी गरिएको हो । शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, पूर्णखोप सुनिश्चित गर्ने काम पनि नगरपालिकाले गरेको नगर उपप्रमुख शर्माले बताउनुभयो ।