• १४ पुस २०८२, सोमबार

शीतलहर बढेपछि विद्यालय बन्द

blog

लहान नगरपालिकाले विपन्न बस्तीमा शीतलहर छल्न फाइवर सिरक वितरण गर्नुहुँदै लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी । तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, पुस १४ गते । तराई–मधेशमा शीतलहर बढ्दै गएपछि लहान नगरपालिकाका सामुदायिक विद्यालयहरू बन्द गरिएको छ । विपन्न समुदायलाई शीतलहरबाट जोगाउन लहान नगरपालिकाले फाइवर सिरक वितरण गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।  

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरू बन्द गरेर शीतलहरको चपेटामा पर्न सक्ने विपन्न दलित बस्तीहरूमा लहान नगरपालिकाले पुस १२ गतेदेखि फाइबर सिरक वितरण कार्य जारी राखिएको लहान नगरपालिकाले जनाएको छ । 

लहान नगरपालिका –१५, १८, १९, २०, २१ र २४ नम्बरका मुसहर सामुदायका ज्येष्ठ नागरिक र अन्य प्रभावित उमेरका विपन्न समुदायलाई सोमबारसम्ममा तीन सय फाइवर सिरक वितरण गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनु भयो । 

फाइवर सिरक वितरण दाउरा वितरणको साथै त्रिपालमुनि एक वर्षदेखि बस्दै आइरहेका लहान नगरपालिकाले नगर प्रहरी परिचालन गरी  वडा १५ का श्याम सदायको जस्तापाताको छाना हालेर घर निर्माण गरिएको उहाँले जानकारी गराउँदै भन्नु भयो, ‘‘लहान नगरपालिकाका सम्भावित विपन्न बस्तीमा शीतलहरले हुने समस्यालाई ध्यानमा पहिलो चरणमा पाँच सय फाइवर सिरक वितरण गर्ने योजना अन्तर्गत तीन सय वितरण गरिसकेका छौँ ।’’

शीतलहरले सामुदायिक  विद्यालयमा विधार्थी सङ्ख्या घटेपछि सिरहाको १७ वटै पालिकाले पाँच दिनका लागि विद्यालय बन्द गरिएको र सम्भावित जोखिमबाट जोगाउन आवश्यक व्यवस्था गर्न जिल्लाको १७ वटै पालिकामा समन्वय गरिरहेको सिराहा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतोले जानकारी दिनु भयो ।