ज्ञानु पंगेनी
मध्यबिन्दु, असार १ गते । ११ औँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नवलपरासी पूर्व (नवलपुर) आउनुहुने भएको छ ।
सरकारले २०७१ असार २ गते राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति गठन गरेर चुरे संरक्षण योजनालाई अगाडि बढाएपछि प्रत्येक वर्ष असार २ गते चुरे संरक्षण दिवस मनाइँदै आएको छ ।
यसै दिवसको अवसरमा राष्ट्रपति पौडेलले नवलपुरको कावासोती –३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनमा वृक्षरोपण गरेर दिवसको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका उपसचिव टेकप्रसाद पुलामीले जानकारी दिनुभयो । सोमबार बिहान ८ः ३० बजे राष्ट्रपति पौडेलले कार्यक्रम उदघाटन गर्नुहुने तालिका छ ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण गण हात्तिखोर कावासोतीको समन्वयमा कार्यक्रम हुँदैछ । वन तथा पर्यावरण गण हात्तिखोरका सेनाहरू कार्यक्रम स्थलको तयारीमा जुटेका छन् । वृक्षरोपण स्थल र मञ्च व्यवस्थापनको काममा सेना खटिएको छ ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा कुल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध छ । चुरे क्षेत्र भौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरूको वासस्थान र जैविक मार्ग हो ।
बलौटे ढुङ्गा एवम् माटो ढुङ्गाबाट बनेका कारण चुरे भूभाग निकै कमजोर छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भूक्षयजस्ता कारणले यो क्षेत्र संवेदनशील बन्दै गएको छ । त्यसैले चुरे क्षेत्रको संरक्षण गर्दै गरिबी न्यूनीकरणमा टेवा दिने उद्देश्य राखेर सरकारले २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयनमा छ ।