इमान सिं राना
रामपुर (पाल्पा), जेठ ३१ गते । रामपुर नगरपालिकाले विभिन्न समस्याबाट पीडित बालबालिकालाई राहत वितरण गरेको छ । पारिवारिक समस्यामा रहेका, दीर्घरोगी, शारीरिक तथा मानसिक समस्या भएका छ जना बालबालिकालाई राहत प्रदान गरेको हो ।
नगरस्तरीय बाल भेलाको अवसरमा बालबालिकाको पोषणयुक्त आहार तथा शैक्षिक व्यवस्थापनका लागि सहयोग गरेको हो । आपतकालीन बाल उद्धार कोष रकम प्रदान गरेको रामपुर नगरपालिकाले जनाएको छ । महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले पारिवारिक, शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी बालबालिकाहरुलाई पोषण र शिक्षाका लागि राहत रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
साथै नगरपालिकाले दृष्टिविहिन एक विद्यार्थीलाई अध्ययनमा सहजताका लागि ल्यापटप प्रदान गरेको छ । पृथ्वी नारायण क्याम्पस पोखरामा बिएड तेस्रो वर्षमा अध्ययनरत रामपुर ६ का विपना खनाललाई ल्यापटप समेत हस्तान्तरण गरेको हो । ब्रेललिपीबाट मात्र अध्ययन गर्न कठिनाई भइरहेको सन्दर्भमा प्रविधिको माध्यमबाट थप कुरा सिक्न सहज हुने बताउँदै नगरपालिका प्रति आभार व्यक्त गर्नुभयो । उहाँले फरक क्षमताको भए पनि खुला प्रतिस्पर्धा बाटै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यका सहित अघि बढेको बताउनुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बालबालिकाको उचित संरक्षणसँगै अधिकारको पूर्ण प्रत्याभूति दिलाउन नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । उपप्रमुख बालकुमारी थापाले नगरपालिकालाई २०८३ मङ्सिर ५ गते भित्र बालमैत्री स्थानीय शासन लागु गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।
१० वटै वडाका बालबालिकाको भेलाले बालमैत्री स्थानीय शासन अवलम्बनका लागि सारदाप्रसाद श्रेष्ठको अध्यक्षतामा नगर बाल सञ्जाल गठन गरेको छ । भेलाले श्रेष्ठको नेतृत्वमा २१ सदस्य बाल सञ्जाल सर्वसम्मत रूपमा गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा विपना नेपाली, अङ्गिता खनाल, सचिवमा सिमरन केसी, कृष्ण गौतम, सहसचिवमा अञ्जली आचार्य र कोषाध्यक्षमा मुना अस्लामी हुनुहुन्छ ।