• १ असार २०८२, आइतबार

नारच्याङको लेक गाउँका घरघरमा खानेपानीका धारा

blog

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँमा निर्माण गरिएको खानेपानीको योजना । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ३१ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ ।

सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि लेक गाउँवासी खुसी भएका छन् । आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् ।

गोर्खा वेल्फेयर ट्रस्टको ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको दस लाख ९२ हजार आठ सय बराबरको श्रमदान गरी ६१ लाख ४७ हजार एक सय चार रुपियाँमा खानेपानी योजना निर्माण सम्पन्न भएको ट्रस्टका आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८६ घरधुरीमा निजी धारा, विद्यालय र सामुदायिक भवनमा तीन वटा धारा गरी ८९ वटा धारा निर्माण गरिएको छ । यसैगरी, ट्रस्टले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा सुविधासम्पन्न शौचालय निर्माण समेत गरिरिदिएको छ । उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको उक्त खानेपानी आयोजना ६० दिनमा सम्पन्न भई लेकगाउँवासीले पानी उपभोग गर्न थालेका छन् ।

गाउँको शिरानमा रहेको पानीखाने मुलबाट पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजना सुपरभाइजर जमुना जिरेलले बताउनुभयो । उहाँका अनुसार आयोजनाको मुहानमा पानी सङ्कलन ट्याङ्की, वितरण च्याम्बर निर्माण र दुई वटा आरविटी निर्माण गरिएको छ ।

खानेपानी योजना सुरु भएको दुई महिनाको अवधिमा सबै काम सम्पन्न गरेर गाउँमा पानी वितरण सुरु गरिएको लेकगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रन्तिजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लेकगाउँमा यसअघि पनि पानीका धारा त थिए तर हामीले सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएका थिएनौं । गोर्खा वेल्फेयर ट्रष्टले निर्माण गरिदिएको यस योजना गुणस्तरीय, दिगो, भरपर्दो हुनुका साथै सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएका छौं ।’’ पानी सुरक्षा लागि गर्नुपर्ने सबै मापदण्डहरू यो आयोजनामा पूरा भएको उहाँले बताउनुभयो ।

योजनालाई दिगो रूपमा सञ्चालन होस् भनेर मुहान र ट्याङ्कीको संरक्षणमा ध्यान दिइएको आयोजनाका इन्जिनियर उत्तमलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले योजनाको गुणस्तरमा कुनै कमि हुन दिएका छैनौं । आयोजना निर्माणको अवधिभर प्राविधिक गाउँमै बसेर हरेक कामको अनुगमन गरेका छौं । मुहानदेखि पाइपलाइन, वितरण ट्याङ्की र धारा निर्माणमा उच्च गुणस्तरसहित प्रविधिको प्रयोग गरेका छौं ।’’

योजनाको समान्य मर्मत सम्भारका लागि गाउँमै प्राविधिक तयार पार्न योजना निर्माणको अवधिमा स्थानीयहरूलाई समेतसँगै परिचालन गरिएको र मर्मत सम्भार गर्नका लागि तालिमको व्यवस्था समेत ट्रस्टले मिलाएको छ । छोटो समयमा आयोजना सम्पन्न गरेको अवसरमा लेकगाउँवासीहरूले शुक्रबार ट्रष्टका कर्मचारी,प्राविधिक र प्रतिनिधिहरूलाई भव्यरूपमा बिदाई समेत गरेका छन् ।  

गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ता समितिले छोटो समयअवधिमा खानेपानी योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लेक गाउँवासीहरू सफा र स्वच्छ खानेपानी सुविधाबाट बञ्चित भएका थिए । पालिका र वडाको माग अनुसार गोर्खा वेल्फेयर ट्रस्टले खानेपानी योजना निर्माण गरिदिएर सफा र स्वच्छ पानी उपभोग गर्न पाएकोमा लेक गाउँवासी खुसी भएका छन् ।’’