अरू धिमय्को बोलतालसँग मेल नखाने आफ्नै छुट्टै बोल र ताल भएको मु धिमय् जसले पायो त्यसले बजाउन सक्दैन । एउटा मु धिमय् बजाउँदा आठ/दस जोर जुस्याहा बजाउँछन् र चमर, पङ्खा हम्काउने गर्छन् ।
नेवार वाद्य परम्परामा धेरै थरी बाजा छन् । त्यसमा पनि सबैभन्दा लोकप्रिय बाजा धिमय् नै हो । ‘धिमय्’ र ‘यलय् प्वः धिमय्’ दुई किसिमका धिमय् प्रचलनमा देख्न सकिन्छ । ‘धिमय्’ ठुलो आकारको हुन्छ । ‘यलय् प्वः धिमय्’ सानो आकारको हुन्छ । यलय प्वः धिमय् काठमाडौँमा प्रायः बजाइन्छ तर मध्यपुर थिमिमा अलग्गै किसिमको धिमय् प्रचलनमा छ ।
मु धिमय् अर्थात मूल धिमय्, सयौँ धिमय्को हुलमा अलग्गै पहिचान भएको मुख्य धिमय् हो । थिमिको प्रसिद्ध ३२ खट जात्रामा एक पटक मात्र बजाइने र अरू बेला वर्ष दिन कोठामा थन्क्याइने मु धिमय् थिमिकै प्रसिद्ध देवी सिद्धिकाली अथवा चामुण्डा जात्रासँग सम्बन्धित छ । थिमिमा हुने मूल जात्रामध्येको जात्रा सिद्धिकाली जात्रामा मु धिमय् नल्याईकन जात्रा सुरु हुँदैन ।
मु धिमय्ले अरू सामान्य धिमय्भन्दा सांस्कृतिक रूपमा धेरै महत्व राख्छ । प्रत्येक वर्ष थिमिमा जात्रा सुरु हुनुभन्दा आठ दिनअघि ‘नितं कय्गु, तिसा पिकाय गु’ भन्ने चलन छ । ‘जात्राभरि देशमा के के गर्नु हुन्न र के के गर्नु पर्छ’ भनी देशवासीलाई जानकारी गराउन, लौ जात्रा सुरु भयो ! भनेर प्रचारका लागि लायकूबाट द्यः बाजा बजाई देशवासीलाई जानकारी दिन नगर परिक्रमा गर्ने दिनलाई नितं कय्गु भन्ने गरिन्छ । नितं कय्गु दिनदेखि औपचारिक जात्राबाहेक सर्वसाधारण व्यक्तिले व्रतबन्ध, जङ्कु, अन्य नाचगान, मनोरञ्जन कार्यमा र शव उठाउँदासमेत कुनै प्रकारको बाजागाजा बजाउनु हुँदैन । देशभित्र छालाको जुत्ता लगाउन नहुनेलगायत सामाजिक बन्देज रहन्छ । कसैले लायकुको नियम उल्लङ्घन गरेमा माहांहरूले समातेर लगेर दां पेदां (चार दाम) जरिबाना तिराएर छाडिन्छ । उक्त दिनलाई तिसा पिकाय्गु पनि भनिन्छ । तिसा पिकाय्गु माने जात्रा गर्ने देवताको गहना निकालिने दिन हो । जात्रा गर्ने सबै देवताको बहुमूल्य गरगहना वर्ष दिन थन्क्याएर राखिए पनि पालो पर्ने मान्छे द्यःपालाःको घरबाट निकाली राखिन्छ । जजसले चढाइराखेको हो, सोही सोही व्यक्ति आई गहनाहरू लिएर जान्छन् । १ गते खाइसंल्हुको दिन फेरि जुन देवताको गहना हो, सोही देवतालाई पूजा गरी चढाउन ल्याइन्छ । नितं कय्गु र तिसा पिकाय्गु एकै दिन पर्छ । सोही दिनदेखि छोरी माइती बस्नु हुँदैन भन्ने चलन अनुसार माइतमा बसिरहेका छोरीहरू आआफ्ना घर जाने चलन छ ।
वर्ष दिन पूजाआजा गरी चोखो पानी (निलः) चढाई थन्क्याइराखेको मु धिमय्लाई पनि सोही तिसा पिकाय्ग दिनमा चोखो पानी चढाई पूजा गरी बजाउन सुरु गरिन्छ । सोही दिनदेखि आठ दिनसम्म बेलुका बेलुका मान्छेहरू जम्मा भई मु धिमय् घर मध्यपुर थिमि तुलंननी वडा नं. १० को तुसीबहादुर कुं छें प्रजापतिको घरमा सो धिमय् बजाउने गरिन्छ । धिमय् बजाइसकेपछि चिपंथी माःगु (जे भए पनि खानुपर्ने) अथवा समय् खाएर धिमय् थान्को लगाइन्छ ।
वैशाख १ गते गुथियार जम्मा भई सिद्धिकाली स्थानमा पूजा गरी मु धिमय्लाई पनि पूजा गरी भोज खाने गरिन्छ । पहिला पहिला हाँस या बोका बलि दिनुपर्नेमा अचेल हाँसको फुल मात्र बलि दिने गरिन्छ । सोही दिन साँझ सो धिमय् बजाई सिद्धिकाली स्थान अथवा इनाय्कोमा सिद्धिकालीको जात्रा सुरु गर्न सो धिमय् पु¥याउनु पर्छ । अरू जति नै धिमये टोली जम्मा भए पनि मु धिमय् नभईकन जात्रा सुरु हुँदैन । मु धिमय्का गुरुहरू यस्तो भन्नुहुन्छ, “मु धिमय्को सत छ । जति बलियो मान्छेले भिरे पनि काम्ने गर्छ । त्यसैले मु धिमय् बजाउँदा अगाडि एक जनाले समाइदिनुपर्छ । जति हुल र भिड भए पनि सिद्धिकालीको रथअगाडि नै बसेर बजाउनु पर्छ । कसै कसैले यस बाजालाई नाग बाजा पनि भन्दा रहेछन् । त्यो बाजा बोकेपछि बाजा बोक्ने मान्छे सिधा हिँड्न सक्तैन रे ! नागबेली आकारमा यताउता भई हिँड्छन् रे ! त्यसैले होला मु धिमय्को दोषले बिरामी परेमा कसै कसैले नाग पन्छाउने जस्तै अक्षता चामल पखालेर दुध राखी कपासको नाग आकार बनाई पुई हनिगु भनेर नागको दोष पन्छाउने जस्तै पूजा पनि गर्छन् ।
अरू धिमय्को बोलतालसँग मेल नखाने आफ्नै छुट्टै बोल र ताल भएको मु धिमय् जसले पायो त्यसले बजाउन सक्दैन । एउटा मु धिमय् बजाउँदा आठ/दस जोर जुस्याहा बजाउँछन् र चमर, पङ्खा हम्काउने गर्छन् । आठ जनाको गुथियार भएकोमा सबै कुं छें खलकका छन्, एक जना ब्रमु भएकोमा उसले पालो पनि लिनु पर्दैन । गुथि जसको पालो परे पनि सधैँ मु धिमय् गुथि छें तुसीबहादुर कुंछेको तुलंननी वडा नं. १० मा राख्ने गरिन्छ । बाहिर कहीँ लानु हुँदैन । आफ्नै बाबुबाजेले राखेको सात आना जग्गा नै मु धिमय्को आयस्ता हो, त्यो पनि बाली नआएको बर्सौं भइसक्यो । जग्गाको अत्तोपत्तो छैन । गुरुहरूको भनाइ छ, “मु धिमय् सिद्धिकालीको प्रतीक पनि हो । त्यसैले कोही कसैलाई अनिष्ट भएमा सिद्धिकाली देख्ने, नराम्रा सपनाहरू देख्ने भए उक्त मु धिमय्को पूजा गर्न आउनेहरू अहिले पनि छन् ।” तुसीबहादुरका छोरा नाइराम भन्नुहुन्छ, “पहिला पहिला बोका, हाँस बलि दिनुपर्नेमा अहिले भने बलि दिइँदैन ।”
ईश्वरको रूपमा पुजिने मु धिमय् बनाउन, मर्मत गर्न परेमा बनाउने मान्छे घरैमा बोलाएर बनाउने गरिन्छ, बाहिर लानु हुँदैन । स्थानीय बुढापाकाका अनुसार पहिला एक पटक पुरानो भएर मर्मत गर्न कुलु बाजा बनाउने मान्छेकहाँ लगेर बनाइएको थियो । कुलुले अरू साधारण धिमय् बनाए जस्तै खुट्टाले तन्काएर धिमय् बनायो । त्यही बेला धिमय् बनाउने कुलु मरणासन्न हुने गरी बिरामी भयो । कति वैद्य देखाए पनि, औषधीमुलो गरे पनि निको भएन । झन् झन् चर्को हुँदै गयो । जे गरे पनि निको नभएपछि ज्योतिषीकहाँ देखाउँदा मु धिमय्को दोष भनेर भनियो । अन्त्यमा विधिपूर्वक मु धिमय्को पूजा गरेपछि तुरुन्त निको भयो रे !
सालको एक पटक सिद्धिकाली जात्रामा मात्र बजाइने मु धिमय्लाई वर्ष दिन कोठाभित्रै राखिन्छ । यस अवधिमा चोखो पानी (निलः) चढाई, धुप बाली दिनदिनै यसको पूजा गर्नु पर्छ । महिनावारी भएको महिला धिमय् कोठामा जानु हुँदैन भन्ने मान्यता छ ।
विसं १९९० को महाभूकम्पमा धिमय् भएको भाग मात्र बाँकी गरी अरू भाग पाताल भयो रे ! यस्ता सांस्कृतिक परम्परा भएको संस्कृति हाम्रो पहिचान हो । यस्ता पुरातात्त्विक महत्वका जात्रापर्व, नाचगान, बाजागाजा, धार्मिक आस्था भएका गुथियार र जात्रालु भएसम्म त ससम्मान बजाउँदै आइरहेकै छन् । समयको गतिसँगै यो आस्था र विश्वास घट्दै आइरहेको पाइन्छ । बाजा जोगाउने भनेको सांस्कृतिक परम्परा पनि जोगाउनु हो । हाम्रो गौरव जोगाउनु हो । बेलैमा हामी सबै सचेत भई सम्बन्धित निकाय, संस्कृति मन्त्रालय, पुरातत्व विभाग, स्थानीय नगरपालिकाको ध्यान आकृष्ट गराउन सकेनौँ भने भोलि इतिहासको पानामा कैद हुन जान के बेर ?