प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ३१ गते । परोहा नगरपालिका रौतहटले सिँचाइका लागि किसानहरूले प्रयोग गरेको विद्युत् मिटरको शुल्क बुझाएपछि किसानहरु हर्षित भएका छन् ।
परोहा नगरपालिका –१ जिङ्गडवा बेलबिछ्वाका शारदा देवीका अनुसार नगरपालिकाले सिँचाइ मिटरको महसुल बुझाइ दिएका कारण आफुहरुलाई सहज भएको बताउनुभयो ।
कृषि पेशाबाट परिवार धान्न धौँ धौँ परेको बेला कृषि कार्यमा प्रयोग गरेको विद्युत् महसुल रकम अभावले तिर्न नसकेको समयमा नगरपालिकाले तिरिदिए पछि स्थानिय सरकार आफुहरुका लागि समेत रहेको आभास भएको बताउनुभयो ।
परोहा नगरपालिका –२ रामपुर खापका जहिदा खातुनले आफ्नो सिँचाइ मिटरको महसुल तिरेको महिनौ भएका कारण विद्युत् प्राधिकरणद्वारा लाइन काटिदिने त्रास रहेको बेला नगरपालिकाले विद्युत् महसुल बुझाइ दिँदा थोरै भए पनि नगरपालिकाले कृषकका लागि राहत दिएको बताउनुभयो । परोहा नगरपालिकाले पालिकाका कृषकको सिँचाइ महसुल वापत नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई २० लाखको चेक हस्तान्तरण गरेको छ ।
परोहा नगरपालिकाका ९ सय ९४ कृषकहरूले निःशुल्क रूपमा सिँचाइ मिटर प्रयोग गरिरहेका छन् । कृषकहरुको २०८१ मङ्सिरसम्मको बक्यौता महसुल बुझाएको प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज अहमदले जानकारी दिनुभयो ।
नगर प्रमुख शेख वकिलले रोहा नगरपालिको समृद्धि, विकास तथा कृषि क्षेत्रलाई अघि बढाउन र ग्रामीण क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता अनुसार किसानहरुको विद्युत् महसुलको रकम बुझाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विद्युत महसुल मात्र नभएर सिँचाइ मिटर तथा घरायसी मिटर जडानमा लाग्ने राजस्व रकम समेत नगरपालिकाले तिर्ने व्यवस्था मिलाएका छौं ।”
विद्युत् मिटर नलिइ हुकिंग गरेर सरकारी राजस्व मास्ने प्रवृतिलाई निरुत्साहित पार्न मिटर जडान वापतको राजस्व रकम तिर्ने गरेको नगर प्रमुख वकिलको भनाइ छ ।
कृषि पेशामा लाग्न चाहेका परोहा नगरपालिकाका बासिन्दाहरुलाई नगरपालिकामा सम्पर्क गरेर निःशुल्क मिटर तथा निःशुल्क रुपमा विद्युत् सेवा लिन नगर प्रमुख वकिलले आग्रह गर्नुभएको छ ।
नगर प्रमुख वकिलका अनुसार कृषि पेशालाई आधुनिकीकरण गर्न आवश्यक उपकरण र बजारीकरणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको छ ।
कृषकमैत्री पालिका बनाउन नगरपालिका लागि परेको परोहा नगरपालिका रौतहतले जनाएको छ ।