• ३१ जेठ २०८२, शनिबार

स्वास्थ्यमन्त्री कार्यक्रम

गाउँ-गाउँसम्म नसर्ने रोगको समस्या बढ्दै

blog

स्वास्थ्य कार्यालयद्वारा नसर्ने रोगको न्यूनीकरणका लागि सरोकारवालालाई अभिमुखीकरण गर्दै ।

टोपलाल अर्याल

रेसुङ्गा, जेठ ३० गते । पछिल्लो समय नसर्ने रोगको समस्या सहरदेखि गाउँसम्म बढ्दै जान थालेको छ । पहाडी जिल्ला गुल्मीमा पनि नसर्ने रोगका बिरामीहरुको सङ्ख्या छ हजार ३८६ रहेको पाइएको छ। 

स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार उच्च रक्तचापका चार हजार ३२५ जना, मधुमेहका एक हजार २९८, दीर्घ श्वासप्रश्वासका ६०० र दमका दीर्घकालीन १६३ जना बिरामी छन् । 

स्वास्थ्य कार्यालय गुल्मीले शुक्रबार संक्रामक तथा नसर्ने रोगहरुको न्यूनीकरण विषयमा जिल्लाका सरोकारवालासंग छलफल गरेको थियो । ‘स्वास्थ्य मन्त्री’ कार्यक्रम अन्तर्गत नसर्ने रोग नियन्त्रण तथा स्वस्थकर जीवनशैली प्रवर्धनका विषयमा अभिमुखीकरण गर्दै स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपती आचार्यले अभियान समुदाय स्तरसम्म पुर्याउन सवैको सहयोग आवश्यक रहेको औंल्याउनुभयो । जिम्मेवार व्यक्तिले आफू र आफ्नो परिवारलाई नसर्ने रोगका बारेमा जागरुक बनाए समाज र राष्ट्र आफैँ असल बन्ने आचार्यले बताउनुभयो । 

स्वास्थ्य कायौलय गुल्मीको प्रमुख जनस्वास्थ्य प्रशासक पुष्पा थापाले नसर्ने रोगका कारक तत्व, बच्ने उपाय र समुदायमा सचेतना फैलाउन सकिने उपायका बारेमा सरोकारवालालाई अवगत गराउनुभएको थियो । उहाँले नसर्ने रोगको अवस्थाको बारेमा जिल्लाका सवै पालिकाहरुमा अभिमुखीकरण गरिसकेकाले न्यूनीकरणमा केही न केही प्रभाव पर्ने आशा व्यक्त गर्नुभयो । नसर्ने रोगका कारण बिरामी एक जना व्यक्ति मात्रै प्रभावित नभएर सिङ्गो परिवार, समाज र देशकै समेत धनराशी खर्च हुने भएकाले रोग लाग्नै नदिन सवैको सहयोग र अभियान आवश्यक रहेको प्रशासक थापाले बताउनुभयो । 

नसर्ने रोगका कारण नेपालमा कैयन व्यक्तिहरुले अमुल्य जीवन गुमाइरहेका छन् । गुल्मीमा मात्रै साढे तिन सयभन्दा बढी मुटु, क्यान्सर र मिर्गौलाको समस्या भएका बिरामीहरु भएकाले स्थिति गम्भीर बनिरहेको छ । स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले आफ्नो शरीर स्वस्थ राख्ने पहिलो जिम्मेवारी व्यक्ति स्वयमको भएकाले अरु कसैलाई आरोप लगाएर नसर्ने रोगबाट बच्न नसकिने बताउनुभयो । उहाँले कानुन र कार्यक्रम मात्रै भएर पनि नहुने भएकाले व्यक्तिको इच्छा शक्तिले मात्रै अभियान सफल र नसर्ने रोगको नियन्त्रण गर्न सकिने कार्कीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले व्यक्तिले खानपानका लागि भान्सा सुधार गरेर शारिरीक व्यायममा बिचार पुराउन सके धेरै हदसम्म नसर्ने रोगहरुबाट बच्न सकिने बताउनुभयो । उहाँले सरकारका तर्फबाट सचेतना अभियानहरु चलिरहेकाले नागरिक स्तरबाट पनि सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।