गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३० गते । गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५८ औं वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुलाई जनही ५० हजार रुपियाँ नगदसहित मधुपर्क सम्मान २०८२ ले सम्मानित गरिएको हो ।
सम्मानित हुनुहुने वरिष्ठ साहित्यकारहरुमा कवि ज्ञान उदास, आख्यानकार ध्रुव सापकोटा र पद्मावती सिंह रहनुभएको छ । उहाँहरुलाई वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्मान गर्नुभयो । नगदसहित सम्मानपत्रले उहाँहरुलाई सम्मानित गरिएको हो ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले नेपाली साहित्यको अवस्था दिनप्रतिदिन चिन्तायोग्य भइरहेका बेला मधुपर्क साहित्यिक मासिकले नेपाली साहित्यको श्रीवृद्धिमा राम्रो काम गरिरहेको बताउनुभयो । विश्वविद्यालयमा विद्यार्थी घट्नु, शिक्षकहरु घट्दा साहित्यप्रतिको नयाँ पुस्ताकाे रुचि घटेको सङ्केत गरेको उहाँले चर्चा गर्नुभयो । मधुपर्कसँग आफ्नो माता र छोराको सम्बन्ध रहेको चर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार डा. विमलले भन्नुभयो, “समाजमा मानवीय भावना हराउँदै गएको छ, समाज जोड्ने सन्देशमूलक सिर्जनाहरु साहित्यकारहरुले गर्नुपर्छ । साहित्यकारका सिर्जनाले समाजमा नयाँ ज्ञान र चेतना विस्तार गर्न सक्नुपर्छ ।”
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानको मासिक प्रकाशन मधुपर्कले नेपाली साहित्यको इतिहास झल्काउने काम गरेको बताउनुभयो । मधुपर्कमा प्रकाशित सामग्रीलाई डिजिटलाइज्ड गर्ने काम भइरहेकाले मधुपर्कमा प्रकाशित हुने साहित्यकारहरुको सिर्जना अब सुरक्षित रहने उहाँले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा उहाँले शुभकामना व्यक्त गर्दै आगामी दिनमा मधुपर्कको पृष्ठ थप गरिने बताउनुभयो ।
वरिष्ठ कवि ज्ञान उदासले साहित्यकारले आफ्नो इमानको स्मरण गर्दै सिर्जनामार्फत समाज जोड्न सक्नुपर्ने बताउनुभयो । साहित्यकारको काम लेख्ने र नयाँ सिर्जना गर्ने भएकाले अविश्राम सिर्जनामा लाग्न उहाँले सर्जकहरुलाई आग्रह गर्नुभयो ।
वरिष्ठ साहित्यकार कृष्ण गौतमले साहित्य हरेकको आत्माको आवाज भएको बताउनुभयो । जस्तोसुकै कठिन परिस्थितिमा पनि सर्जकले सिर्जना गर्न छाड्न नहुने उहाँले सुझाव दिनुभयो । साहित्यकारले सिर्जना गर्ने रचनाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्मानित स्रष्टाहरु ध्रुव सापकोटा, पद्मावती सिंहले साहित्यिक श्रीवृद्धिमा मधुपर्कको योगदानको स्मरण गर्नुभयो । मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यकारहरु, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, सञ्चालक समितिका सदस्य तथा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, संस्थानका विभागीय प्रमुखहरुको सहभागिता थियो ।