• ३१ जेठ २०८२, शनिबार

तरकारी खेतीबाट वार्षिक १५लाखभन्दा बढी आम्दानी

blog

कृषि पेसामा रमाइँरहनु वडाध्यक्ष थापा बारीमा काम गर्दै । तस्बिरः यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी, (दैलेख) जेठ ३० गते ।
नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिकसँगै कृषि पेसामा रमाइँरहनु भएको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आनुभएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाउनुभएको छ ।

उहाँले जिल्लामा राजनीतिक सँगसँगै कृषि पेसामा अब्बल कृषकको पहिचान बनाउनुभएको छ । उहाँले वार्षिकरुपमा १५ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

दुई दशकदेखि तरकारी खेतीमा संलग्न वडाध्यक्ष थापा बिहान ४ बजेदेखि आफ्नो तरकारीबारीमै व्यस्त हुनुहुन्छ । जिल्लामा व्यावसायिक रूपमा कृषि व्यवसाय गरेर उदाहरणिय काम गर्नुभएका थापा ठीक १० बजे वडा कार्यालय पुग्नुहुन्छ  । जनताको सेवामा सक्रिय वडा अध्यक्ष थापा वडाको काम सकिएपछि साँझको समय तरकारी बारीमै व्यस्त हुनुहुन्छ ।

उहाँले उदाहरण दिएर युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनितिसँगै यो पेशा अङ्गालेको बताउनुभयो ।  मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उहाँले बढी जोड दिँदै आउनुभएको छ । भविष्यको योजना सुनाउँदै उहाँले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको उहाँको भनाइ छ ।

‘‘पछिल्लो समयमा राजनीतिकर्मिहरुलाई आर्थिक समस्या देखिने भएकाले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म सञ्चालनमा ल्याएको हुँ ।,’’ वडाध्यक्ष थापाले भन्नुभयो, ‘‘आफुले कृषि व्यवसाय सुरु गरेको कृषिबाट गरे देखि नै भने जस्तै आम्दानी भएको छ ।’’

तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्ने समेत गरेको उहाँले बताउनुभयो । गाउँकै सहकारी बाट ६ लाखभन्दा बढी ऋण लगेर र आफ्नो डेढ लाख लगानी गरी कृषि पेसा अङ्गालेका वडा अध्यक्ष थापाले आफ्नै ५० रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ ।

बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएका उहाँको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, मुला, धनियाँ र टमाटर लटरम्म फलेको छ । 

३३ वर्ष शिक्षण पेसामा सेवा गरेका वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनदेखि नारायण नगरपालिका–२ को वडाध्यक्षमा लगातार विजयी हुनुभएको छ । यस फर्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।