• २६ जेठ २०८२, सोमबार

पुरस्कार जित्ने हस्तलेखन

blog

आर्यभभूषण श्रेष्ठ अहिले आठ वर्षका छन् । उनी कक्षा ४ का विद्यार्थी हुन् । उनले यति सानो उमेरमै राष्ट्रियस्तरको हस्तलेखन (ह्यान्ड राइटिङ) प्रतियोगिता जितेर ठुलो उपलब्धि हासिल गरिसकेका छन् । २०८१ पुसमा बालविकास एनसी मासको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई सय विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा आर्यभले जुनियरतर्फ अङ्ग्रेजी ह्यान्ड राइटिङमा प्रथम स्थान हासिल गरेका हुन् । आर्यभले पहिलो भएपछि ट्रफी र ५० हजार रुपियाँ पनि प्राप्त गरे ।

आर्यभमा सानैदेखि राम्रो अक्षर लेख्ने प्रतिभा थियो । आर्यभले राष्ट्रिय हस्तलेखन प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्छ र जित्न सक्छन् भन्ने पहिचान हस्तलेखन शिक्षक मीरा सुर्खेतीले गर्नुभयो । विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलापको रूपमा हस्तलेखन कक्षा हुन्छ । पहिलो पटक अक्षर लेख्न दिँदा नै आर्यभ शिक्षक मीराको नजरमा परे । अरूले एक पेज लेख्दा आर्यभले तीन पेज पूरा गरिसकेका थिए । उनको अक्षर पनि त्यत्तिकै राम्रो र स्पष्ट थियो । त्यसपछि मीराले आर्यभलाई छुट्टै सिनियर लेभलमा सिकाउने ‘मोनो कर्सिभ’ सिकाउनुभयो । हस्तलेखनमा नेचुरल गुण भएका आर्यभले चाँडै मोनो कर्सिभ पनि राम्ररी लेख्न थाले । आर्यभले मोनो कर्सिभ सिकेको डेढ महिनामा नै राष्ट्रियस्तरको प्रतियोगिता जितेका थिए । 

हस्तलेखन शिक्षक मीराका अनुसार आर्यभको सबभन्दा राम्रो गुण भनेको पेन र पेन्सिलमा राम्रो नियन्त्रण हुनु हो । त्यसैले उहाँले आर्यभलाई प्रतियोगिताका लागि व्यक्तिगत रूपमै सिकाउनु भएको थियो । 

कुनै पनि कुरामा अब्बल हुन प्राकृतिक क्षमता भएर मात्र पुग्दैन । त्यस्तो क्षमतालाई विकास गर्न निरन्तर अभ्यास पनि गर्नु पर्छ । त्यसैले आर्यभ हरेक दिन हस्तलेखन अभ्यास गर्छन् । आर्यभ स्कुलमा बाहेक घरमा हरेक दिन पाँच, छ पेज अभ्यासका लागि लेख्छन् । आर्यभका बुवा अजयभूषण श्रेष्ठ र आमा रूपा श्रेष्ठ पनि स्कुलबाट छानिएर राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सहभागी भएकोमा खुसी हुनुहुन्थ्यो तर सर्वाेत्कृष्ट हुने कुरामा त्यति विश्वस्त हुनुहुन्थेन । त्यसैले उहाँहरू पुरस्कार वितरण समारोहमा पुग्नुभएको थिएन । जब आर्यभले पहिलो पुरस्कार पाउन लागेको खबर थाहा पाउनुभयो उहाँहरू हतारिँदै पुरस्कार वितरण स्थल राष्ट्रिय नाचघर पुग्नुभएको थियो ।

अहिले ‘ग्याजेट’ को युग हो । त्यसैले अक्षर लेखनलाई महत्व दिनु नपर्ने भन्ने कतिपयलाई लाग्न सक्छ तर त्यस्तो होइन । शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा राम्रो अक्षर भएकालाई बढी अङ्क दिने गर्नुहुन्छ । हस्तलेखन शिक्षक मीराले भन्नुभयो, “राम्रो ह्यान्ड राइटिङले व्यक्तित्व झल्काउँछ । ह्यान्ड राइटिङ राम्रो हुने विद्यार्थी सबैको नजरमा पर्ने गर्दछ । परीक्षामा राम्रो ह्यान्ड राइटिङले राम्रो नम्बर ल्याउन पनि सहयोग गर्छ । कतिको ह्यान्ड राइटिङ स्पष्ट नहुँदा नम्बर काटिने हुन्छ ।”

विश्व हस्तलेखन प्रतियोगिता हुन्छ । नेपालले पनि त्यस्तो प्रतियोगितामा भाग लिँदै आएको छ । दुई वर्षअघि नेपालकी प्रकृति मल्लले विश्वकै सबभन्दा राम्रो हस्तलेखन पुरस्कार जितेकी थिइन् । शिक्षक मीराले अन्तर्राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सहभागी हुन आर्यभले प्राथमिकता पाउने धेरै सम्भावना रहेको बताउनुभयो ।  

  मुना